एमाले - माओवादी एकता कार्यदलको बैठक बस्दै

आइतबार, ३० पुस २०७४, १० : ३९
एमाले - माओवादी एकता कार्यदलको बैठक बस्दै

 काठमाडौं । राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार गठनलगायत विषयमा मापदण्ड तयार गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बनाएको संयुक्त कार्यदलको बैठक आज पनि बस्दै छ ।

विगतका सहमतिलाई आधार मानेर गृहकार्य गरिरहेको कार्यदलको बैठक आज बस्न लागेको हो । बैठक दिउँसो तीन बजे बस्न लागेको कार्यदलका सदस्य सुवास नेम्बाङले जानकारी दिए ।

बैठक बस्नुअघि दुवै दलले आन्तरिक रुपमा पार्टीमा छलफल गरेका छन् । सरकार गठन र पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादी फेरि पनि ६०/४० प्रतिशतकै भागबन्डामा जाने तयारीमा छन् ।

राष्ट्रिय सभाको निर्वाचन, प्रदेश मुख्यमन्त्री र सभामुख पदमा यसअघिकै जस्तो ६०/४० प्रतिशतका आधारमा भागबन्डाको तयारी गरेका हुन् । कार्यदलका सदस्य नेम्बाङका अनुसार पार्टी भित्र पनि यस विषयमा आन्तरिक छलफल भइरहेको छ ।

यसअघि प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत भागबन्डा गरी उम्मेदवार तय गरेका थिए । प्रतिनिधिसभा चुनावको परिणाम भने ७० र ३० को अनुपातमा आएको थियो ।

प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना उम्मेदवार तय गर्नुपर्नेछ । ६० र ४० प्रतिशत भागबन्डा गरे एमालेको भागमा ३३ र माओवादीको भागबाट २३ जना उम्मेदवार हुनेछ । प्रदेशको मुख्यमन्त्री र सभामुखको हकमा यो मापदण्डअनुसार एमालेको भागमा ४/४ र माओवादीको भागमा २/२ जना पर्नेछन् ।

कार्यदलले प्रदेशगत रूपमा पार्टीको अवस्था, पार्टी एकताको भावना, सम्बन्धित पदका लागि आवश्यक योग्यता र समावेशी सन्तुलनलाई ख्याल गरेर उम्मेदवार तय गर्ने बताइएको छ । प्रदेश नम्बर २ मा भने वाम गठबन्धन सरकार बनाउने हैसियतमा छैन ।

कार्यदलले माघ १० भित्र राष्ट्रिय सभा उम्मेदवारी दर्ता गर्नुअघि प्रतिवेदन तयार गरी शीर्ष नेतृत्वलाई बुझाउने बताइएको छ । उम्मेदवारको अन्तिम टुंगो भने शीर्ष नेताको बैठकले लगाउने छ ।

प्रतिक्रिया दिनुहोस