४० जना अर्धसैनिक बलका सैनिकको ज्यान जाने गरी भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती आक्रममण पछि आइतबार पनि आम हड्ताल जारी रह्यो । कश्मीर बाहिर रहेका कश्मीरीमाथि आक्रमण र दुर्व्यवहार भएकाे भन्दै कश्मीरमा आमहड्ताल भएको हाे ।
कश्मीर उपत्यकाका व्यावसायिक संस्थाहरुको अगुवाइमा आमहड्ताल गरिएको हो । आम हड्ताललाई यातायात व्यावसायी तथा ट्रेड युनियनहरुले पनि समर्थन गरेको जनाइएको छ ।
स्थितीलाई नियन्त्रण गर्न कश्मीरमा कर्फ्यू जारी गरिएको थियो । तीब्र गतिको मोबाइल इन्टरनेट बन्द गरिएका थिए । त्यस्तै जातीय दंगा हुनसक्ने आशंकाबीच जम्मुमा तीन दिनयता लगाइएको कर्फ्यू आइतबार पनि जारी रह्यो ।
गत बिहीबार भारत प्रशासित कश्मीरको पुलावामा भारतीय सिआरपीएफ अर्धसैनिक बलको सवारी लस्करलाई निशाना बनाएर गरिएको आत्मघाती आक्रमणमा ४० जना भन्दा बढी अर्धसैनिकको ज्यान गएको थियो ।
आक्रमणको जिम्मा प्रतिबन्धित संगठन जैश ए मोहम्मदले लिएको थियो । आक्रमणपछि जम्मु तथा भारतका अन्य राज्यमा बसोबास गर्दै आएका कश्मीरीलाई लक्षित गर्दै मानिसहरुको भीडले आक्रमण तथा दुव्र्यवहार गरेको समाचार आएको थियो ।
कश्मीरमा विकसित पछिल्ला घटनाक्रमबाट भारतमा कश्मीरीलाई लक्षित गर्दै जातीय दंगा हुनसक्ने चिन्ताहरु व्यक्त भएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस