– नरेन्द्रजंग पिटर
‘स्थगित भयो भने सपना के हुन्छ ?
के त्यो घाममा सुकाएको किसमिस झैं
चाउरिन्छ ?
कि घाउ झैं पाक्छ र पीप बहन्छ ?
कि कुहिएको मासुजस्तै गनाउँछ त्यो ?
सायद त्यो गह्रुँगो भारीजस्तो
विस्तारै घर्सिने हुन्छ।
कि विस्फोट हुन्छ सपना ?
—ल्याङ स्टन ह्युज
‘जनयुद्ध’ ले १ फागुन ०५२ गते उद्घोष गरेका मर्म र सन्देश इतिहासका विषय बने। आखिर त्यत्रो उथलपुथलकारी विद्रोही शक्ति आफ्नै चारित्रिक आदर्शका बोझ धान्न नसकेर कसरी यो अवस्थामा पुग्दो रहेछ ? आफ्नै गौरवता नायकलाई नै किन गह्रांै बन्दो रहेछ ? राजनीतिक परिवर्तनको स्वामित्व स्वयं त्यसका अगुवाले लिन किन चुक्दा रहेछन् रु सत्ता प्राप्ति नै राजनीतिको केन्द्रीय विषय हो। तर नयाँ सत्ता चरित्रले जन्माउने नयाँ मान्छे, नयाँ समाज, अवस्था कस्तो हुने रु सम्पूर्ण क्रान्तिसँगै जन्मने प्रश्न हुन्। जे छ त्यो भन्न नसक्नु, जे छ त्यो देखाउन नसक्नुको पछाडिका कारक के के हुन् ?
माओवादी पदावली कुनै पार्टीको मात्र नाम नभई सनातनी राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक हस्तक्षेपले पैदा गरेको नयाँ जागरण र आन्दोलन थियो। उत्पीडित र आवाजरहित भुइँमान्छेका लागि कुनै दिन शब्दशक्ति थियो। सनातनसँग विद्रोह थियो। सत्ता थियो। आशा, भरोसा र सपना थियो। हरेकखाले उत्पीडक र वर्चस्वशाली वर्ग र समुदायका लागि भने आतंक थियो। विद्रोहको सशक्त हस्तक्षेपले केन्द्रदेखि सबै प्रकारका स्थानीय सत्तामा प्रहार गर्दा सामाजिक सौन्दर्यशास्त्रका मानक मूल्यमाथि नै प्रहार गर्यो।
हस्तक्षेपले सुषुप्त बस्ती र सनातनी चेतना खजमजिए। निर्धा र सुदूरबस्तीले आफ्ना शक्ति चिन्यो। हरेक क्षेत्रमा महत्वाकांक्षा र पहिचानको भोक पनि जाग्यो। ०६२÷६३ सम्म आइपुग्दा ‘जनयुद्ध’ र जनआन्दोलनको सहमतीय यात्रा राजनीतिक सामन्तवादको प्रतीक राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना, केन्द्रीकृत राज्यसत्तालाई संघात्मक सोच, बहुजातीय बहुसांस्कृतिक समाजको राज्यमा समानुपातिक प्रतिनिधित्व र धर्म निरपेक्षताको हुँकार बन्न पुग्यो।
क्रान्ति र विद्रोहले एकअर्कालाई रक्तपात निषेध गर्थे। तर यहाँ त्यस्तो नभई शक्ति सन्तुलनको अनिवार्य वि श्राम सहमतीय राजनीतिको सुरुवात भएर विकसित राजनीतिक घटनाक्रममा शास्त्रीय र सक्रिय सामन्तवादबाट सम्बन्ध(विच्छेद गर्दै समाज अगाडि बढ्ने कडी बन्न पुग्यो। ‘जनयुद्ध’ ‘शान्तियुद्धमा’ फेरियो। युद्ध निरन्तर चल्न सक्थ्यो, सक्दैनथ्यो त्यो भिन्नै बहसको विषय हो।
माओवादी युद्ध भन्नेबित्तिकै प्रचण्ड र बाबुरामको नाम अगाडि आउने गर्छ। तर दुवैलाई अब युद्धकालीन माओवादी न नामसँग न कामसँग महत्व राख्छन्। कमान्डरहरूकै यो अवस्था भनेको विश्व इतिहासको भद्दा ठट्टा पनि हो। सैद्धान्तिक रूपमा मोहन वैद्य किरणहरू सक्रिय भए पनि पार्टीलाई सामाजिक र व्यवहारीकरण गर्न अझै सकेका छैनन्। विप्लवको एकीकृत जनक्रान्ति पाँच वर्ष पुग्न थाल्दा अझै पनि विद्रोही आकार ग्रहण गर्न सकिरहेको छैन।
आदेशले मात्रै समाज परिवर्तन पनि हुँदैन। माओवादी विरोधीले जे चाहन्थे, त्यो हुँदै गयो। पार्टी फुट्दै गए। स्वत्वका टकराहट सिद्धान्तका नाममा, व्यवहार र आचरणमा टसल बढ्दै गए। जे नारा र आदश थियो, समग्रमा युद्धको धरापबाट त उम्क्यो तर मनोयुद्धको धराप भने छिचल्न सकेन। समग्र माओवादी युद्धको समीक्षा नै नगरी फुट्यो। अझै पनि विश्लेषण हुन नसकेको धोबीघाट भेलाका आयोजक त देखिए तर प्रायोजक भने देखिएनन्।
इतिहास बिर्साउने खेल
प्रसिद्ध जनइतिहासकार प्रो लालबहादुर बर्मा भन्छन्, अपूरो क्रान्तिका पनि ‘इतिहासबोध’ आवश्यक हुन्छ। इतिहास अणु पनि हो परमाणु पनि। वर्तमानको औचित्य सावित गर्ने र प्रतिकारको औजारसमेत हो। पक्षधारिताकै आधारमा अहिले इतिहास बिर्साउने वा वीभत्सकरण गर्ने युद्धविरोधी एक खेल मञ्चन हुँदैछ। त्यसको सौन्दर्यकरण गर्ने नैतिक पुँजी अगुवामा स्खलित हुँदै जाँदा प्रतिपक्षले मौका पाएका हुन्। माओवादीमै पनि आर्थिक सांस्कृतिक वर्ग रूपान्तरणको तीव्र गति बढ्दै जाँदा विरोधीका काम पनि उनीहरूबाटै भयो।
कसैले चाहोस् वा नचाहोस् १ अगुवाहरू जो, जहाँ हुन् रु तर नेपाली राजनीतिक इतिहासका लागि फागुने संक्रान्ति राजनीतिक क्रमभंगताको कोसेढुंगा भइसक्यो। सकार(नकार पक्षधारिताका आधार हुन् तर दसबर्से युद्ध र १४ वर्षको शान्तिपूर्ण टकराहटलाई अब नेपाली इतिहासबाट खारेज गर्नै सकिँदैन। राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा पारेको प्रभावलाई सन्दर्भबाट कटाउनै सकिँदैन। पहिचान र सामथ्र्यको खोजी, त्यसको मूल्य भुक्तान र सामाजिक उथलपुथलले बनेका केन्द्रीय मुद्दा, पैदा गरेको राजनीतिक अवस्थाबारे आआफ्नै कोण, सोच र पक्षधरताका आधारमा समीक्षा हुँदै जाला।
चौबीस वर्ष पहिला र अहिलेको अवस्था, परिस्थिति, बहस र अभ्यास धेरै फरक छन्। विद्रोहरत पक्षका मित्र र दुस्मनका परिभाषा फेरिए। क्रान्ति एकाध शूर, वीर, योद्धाहरूले मात्रै होइन, कविता मात्रै होइन भन्ने कुरा पनि यो अवधि र अभ्यासले देखाइदियो। एउटा गर्भे शिशु अहिले लोर्के भइसकेर हरेक क्षेत्रको नीतिनिर्माता तहमा पुगिसके। तर पनि इतिहास गर्भमा पुरिएका सबैका आग्रह, पीडा थेग्रिएर सोच र भूमिकामा भने प्रभाव पारिरहेका छन्।
कुनै न कुनै नै रूपमा देखा परिरहेका छन्। जुन कारणले विद्रोहको उद्घोष भयो त्यसैले गणतन्त्र शब्दमा आए पनि अझै परिवर्तन व्यवहारमा पाउन भने सकिएको छैन। रूपमा हैन गुणमै सत्ता चरित्रमा फेरबदल गर्ने र नगर्ने बीचको टकराहट झन् बढेको छ। सहमतीय राजनीतिका अगुवाले शान्ति अभ्यासलाई सकारात्मक दिशा दिन सकेनन् भने त्यो अवसर बन्दुकबाट छुटेको गोलीजस्तै हुनेछ। इतिहासमा विद्रोहको पूर्णविराम कहिल्यै हुँदैन, त्यो अवस्थाका जनक अहिले शान्तिको सकारात्मक व्यवस्थापन नगर्ने, नचाहने, घर्काउने, तन्काउने, मर्म ध्वस्त गर्नेहरूलाई नै जान्छ।
छिचल्न नसकेको मनोयुद्ध
विद्रोहकाल १० वर्ष २ महिना १२ दिन चल्यो। शान्ति टसलका १४ वर्ष बित्दैछन्। यो समय भनेको नेपाली इतिहासकै महाउथलपुथल कालखण्ड हो। जनयुद्ध अहिले मनोयुद्धमा फेरिएको छ र सुषुप्त टकराहट घनीभूत भइरहेका छन्। विगत चौबीस वर्षमा राजनीतिक घटनाक्रमः यति तीव्रता साथ बढे कि त्यसको गति पक्रनसमेत सामान्यजनलाई सहज र सरल भएन। धेरैका भविष्यवाणी हावादारी भए। जे पर्ला सोही टर्ला भन्ने नेतृत्वसँग शान्ति प्रक्रियामा आउँदा न कुनै योजना थियो, न मार्गचित्र।
मनोयुद्धको धरापमा फस्दै जाँदा आपस भ्रम, अन्योल, अकर्मण्यता र प्रतिक्रिया मौलाउँदै पार्टी फुट भए। द्वन्द्व र शान्तिका अभ्यासमा विद्रोही आदर्श स्खलन हुँदै बजार संस्कृतिको हावी हुँदा आफ्नै सुन्दर सपनाको बोझ गह्रुँगोे हुने, मित्र विमित्रमा फेरिने र विरोधी एवं दुस्मनहरू साखुल्ले बनेर कोखमा छुरी प्रहार गर्दै आन्दोलनका भाव, मर्म, भावना र सन्देशलाई अन्यन्त्र मोड्दै गए। शान्तियुद्धका जटिलतामा विद्रोहलाई विधिमा टेक्दै विधि भत्काउँदै विधि निर्माणका जटिलता र सहयात्रीबीचका भ्रम र त्यसका परिणाम दम्भ, अहंकार कुण्ठाले दिएन।
दर्शनमा रहेको राजनीतिलाई सामाजिक परिवर्तनको ज्यावल बनाउन चाहिने योग्यता, क्षमता, पहल, कला र जोखिम उठाउन कुनै गणितीय सूत्र हुँदैनथ्यो। माक्र्स, लेनिन र माओले नेपाली माओवादीलाई यी विषय लेखिदिएनन्। यसै समाजको ऐतिहासिक विकासक्रमः, सांस्कृतिक सम्बन्ध, अर्थसंस्कृतिको प्रभावसँग जोडिएकाले युगका सपना मान्छेका भाग्यसँग जोडिएका हुन्थे। जब एकाध मान्छेले देखेका सपना ह्वात्त एकैसमयमा समाजले देख्न थाल्छ तब त्यो सपना विद्रोह बन्छ, आन्दोलन बन्छ र क्रान्तिमा फेरिन्छ भन्ने हेक्का नराख्नु मनोयुद्धको धराप थियो। मनोयुद्धको विश्वव्यापी अभ्यासको सशक्त प्रहार शान्तियुद्धको चोट झेल्न माओवादी बबुरोे बन्यो।
अझै शीतयुद्ध जारी छ
नयाँ कुरा सोच्ने सोचले नै सनातन वा परम्परामा जिउने समाजमा आतंक बन्ने गर्छ। घाउ निको हुन्छ तर खाटा बसे पनि दाग भने रहिरहन्छ। विद्रोहकालीन समयमा भएका टसललाई राजनीतिक समाधान भए पनि भावनात्मक रूपमा भने हुन सक्दैन। त्यसका खाटा धेरै समयसम्मै रहिरहन्छन्। सामाजिक सौहार्द र सहकार्यले मात्रै त्यसको उपचार हुन्छ। सत्ताका फेरिएका चरित्र र कार्यक्रमले नेतृत्व गर्नुपर्छ, तर त्यो अझै देखिँदैन। द्वन्द्वउद्यमी द्वन्द्व चर्काएर फसल काट्न व्यस्त छन् भने प्रतिगामी तत्व त्यसैमा खेल्न।
‘जनयुद्ध’ सम्झने वाध्यता
माओवादीमै सहिद अर्काका घरमा पैदा होस् र आन्दोलनको उपलब्धिको अग्र हिस्साको हकवाला म हुन पाऊँ भन्ने चरित्र देखिँदै गए। सहिदको जैविक हकवालाले आफ्नो सेयर पार्टीमा सबभन्दा ठूलो रहेको दाबी पनि रह्यो। योग्यता, दक्षता र आवश्यकताका परिभाषा फेरिए। युद्धले सत्ता दिलाएका र परिचय दिएकाहरूले त युद्धलाई नाटकै भए पनि सम्झन बाध्य भए भने जसका कारण वर्चस्वशाली वर्गबाट च्युत भएको स्वार्थ समूह छ, त्यो पनि यसलाई घृणा र षड्यन्त्रै गर्नसमेत सम्झन बाध्य छन्।
अन्त्यमाः अब माओवादी युद्ध भने प्राज्ञिक अनुसन्धान, समाजशास्त्रीय अध्ययन, विद्रोही मनोविज्ञानको तत्कालीन राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाको उपज अध्ययन विषय बन्नेछन्। आआफ्ना आग्रहले तत्कालीन अवस्था, शब्द, अर्थ, कारक पक्ष कार्य, कारक र परिणामलाई व्याख्या गरेर स्वऔचित्य सावित गर्ने प्रयत्न त गर्ला। त्यो एकांकी हुन सक्छ। कर्ता नै विचलन र सत्ता प्राप्ति खेलमा रुमलिँदा पनि विद्रोहले पैदा गरेका सामाजिक र आर्थिक हस्तक्षेपले राजनीतिक क्रमभंगता जे गर्यो त्यो भने मेटिन सक्दो रहेनछ। सामाजिक अन्तरविरोधको कुशलतापूर्वक हल भनेको प्रगतिशील राजनीतिले दिने उपचार हो र दिनुपर्छ,। दिन सकेन भने कस्तै शक्तिले पनि विद्रोह र क्रान्ति रोक्न भने सक्दैन।
(अन्नपूर्ण पोष्ट डट कमबाट)
प्रतिक्रिया दिनुहोस