क्षमता विस्तार हुँदै नख्खु कारागार

विहीबार, २७ पुस २०७४, १७ : ३६
क्षमता विस्तार हुँदै नख्खु कारागार

ललितपुर । नख्खु कारागार विस्तार भएर एक हजारजना अट्ने क्षमताको हुने भएको छ ।  पहिले झण्डै ५ सय क्षमताको कारागारमा अहिले ५ सय क्षमता थप हुन लागेको कागारागर प्रमुख टेकबहादुर केसीले बताए ।

पुरुष कैदी/बन्दी राख्ने २५० क्षमताको एउटा ब्लक र अर्को त्यति नै क्षमताको महिला ब्लक बनाइएको छ । पुरुषलाई राख्न बनाइएको ब्लकमा कैदी/बन्दी बस्न थालिसकेका छन् ।  महिला राख्ने ब्लक भने छिट्टै निर्माण सकिएर सञ्चालनमा आउने उनले जानकारी दिए।  “ठेकेदारले ढिलाइ गरेकाले केही समय लम्बियो,अब असारसम्ममा यहाँ महिला कैदी सारिने छ,” कागारागर प्रमुख केसीले भने ।

पहिले यहाँ सामुदायिक पुनःस्थापना केन्द्र
(सिआरसी) र लागू औषध पुनःस्थापना केन्द्र (डिआरसी) गरेर दुईवटा ब्लक भूकम्पका समयमा क्षतिग्रस्त भएकाले पुनः निर्माण भइरहेको हो । लामो समयसम्म पालमा बसेका दुईवटा ब्लकका कैदी/बन्दी अस्थायी टहरामा बसिरहेका छन् ।

अस्थायी भनिने टहरा पनि पछिसम्म काममा आउने उल्लेख गर्दै कारागार प्रमुख केसीले भने, “अस्थायी टहरा पनि कैदी/बन्दी राख्न वा कार्यालयका अरू कामका लागि प्रयोग गर्न मिल्ने खालका छन् ।” कारागारमा कैदी/बन्दीका लागि मनोसामाजिक उपचार केन्द समेत निर्माण भइरहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस