कोहलीले हात पारे एकै पटक तीन उपाधि

एजेन्सी

बुधबार, ०९ माघ २०७५, १९ : ३९
कोहलीले  हात पारे एकै पटक तीन उपाधि

न्यु दिल्ली । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को वर्ष खेलाडीको उपाधिसहित एकै पटक तीन उपाधि आफ्नो बनाएका छन् ।

एक वर्षमा तीन उपाधि जित्ने पहिलो क्रिकेटर बनेका ३० वर्षे कोहलीले टेस्ट र एकदिवसीय दुवैमा ‘आइसिसी क्रिकेटर अफ दी इयर’ को  उपाधि आफ्नो बनाएका हुन् । अस्ट्रेलिया भ्रमणमा टेस्ट र एकदिवसीय क्रिकेट शृंखला आफ्नो बनाउँदै इतिहास रचेको केही दिनमै कोहलीले व्यक्तिगतर्फ पनि कीर्तिमान रचेका छन् ।

आइसिसीले पूर्वक्रिकेटर र पत्रकारको भोटका आधारमा वार्षिक रूपमा क्रिकेटरलाई उपाधि प्रदान गर्दै आइरहेको छ । कोहली आइसिसीको टेस्ट र एकदिवसीय टोलीमा पनि दोस्रो पटक कप्तान चयन भएका छन् ।  

सन् २००८ मा मलेसियामा भएको यु–१९ विश्वकप क्रिकेटको उपाधि भारतलाई चुमाएपछि चर्चामा आएका कोहली टेस्ट र एकदिवसीयमा शीर्ष वरीयताका क्रिकेटर बनिसकेका छन्। कोहलीले गत वर्ष टेस्टमा पाँच शतकसहित १३२२ रन र एकदिवसीयमा ६ शतकसहित १२०२ रन जोडेका थिए ।

अस्ट्रेलियाका ओपनर एरोन फिन्च भने ट्वान्टी–२० तर्फ ‘क्रिकेटर अफ दी इयर’ घोषित भए । फिन्च पनि दोस्रो पटक ट्वान्टी–२० क्रिकेटर चयन भएका हुन् । भारतीय क्रिकेटर ऋषभ पन्त ‘इमर्जिङ प्लेयर’ र स्कटल्यान्डका ब्याट्सम्यान म्याकलम म्याकलियोड एसोसिएटतर्फ  ‘क्रिकेटर अफ दी इयर’ चयन भए । एसोसियटमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको चर्चा भए पनि स्कटल्यान्डका म्याकलम म्याकलियोडले सफलता प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस