जन्मदिनमा उदाहरणीय काम : विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा

सफल खबर संवाददाता

बुधबार, ०९ माघ २०७५, १६ : ०७
जन्मदिनमा उदाहरणीय काम : विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा

चितवन । देवघाटमा रहेको सीताराम संस्कृत माध्यमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरिएको छ । 
सामाजिक संस्था युवा समाज नेपाल बाह्रघरे र एमपी सप्लायर्स एण्ड डेकोर हाउस हाकिमचोकको संयुक्त आयोजनामा न्यानो कपडा तथा स्टेशनरी वितरण गरिएको हो । डेकोर हाउसका सञ्चालक बुबा अनन्त पौडेल र आमा ज्ञानु पौडेलका छोरा अस्टिन पौडेल दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा (कम्बल) वितरण गरिएको हो । न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रममा प्रमुख अतिथि ३ नं प्रदेशकी सांसद पार्वती सिलवालले जन्म दिनमा हुने फजुल खर्चलाई यसरी सामाजिक काममा लगाउनु उदाहरणीय कार्य भएको बताउनुभयो । युवा समाज नेपालका अध्यक्ष केशवप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा युवा समाज नेपालका कार्यकारी निर्देशक खगराज ओझा, डेकोर हाउसका मुख्य सञ्चालक पदम पौडेल, विद्यालयका प्रिन्सिपल मिलन घिमिरेलगायतले जन्मदिनको अवसरमा फजुल खर्च नगर्न सुझाव दिनुभएको थियो । उहाँहरुले जन्मदिनको अवसरमा सामाजिक काम गर्ने परिवारलाई धन्यवाद दिनुभएको थियो ।  

युवा समाजका अध्यक्ष केशवप्रसाद रेग्मीले विपन्न १५ विद्यार्थीलाई कम्बल र २० जना विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको बताउनुभयो । उहाँले युवा समाजले बालबालिका, खानेपानी, सरसफाइलगायतका क्षेत्रमा निरन्तर सामाजिक काम गर्दै आएको बताउनुभयो । देवघाटको सीताराम संस्कृत माविमा तनहुँ, नवलपरासी र चितवनका २५० विद्यार्थी अध्ययनरत छन् । 


 

प्रतिक्रिया दिनुहोस