क्रिस्टियानो रोनाल्डोलाई २३ महिनाको जेल सजाय

एजेन्सी

बुधबार, ०९ माघ २०७५, १३ : ५९
क्रिस्टियानो रोनाल्डोलाई २३ महिनाको जेल सजाय

काठमाडौं । क्रिस्टियानो रोनाल्डो कर छली मुद्दामा दोषी ठहर भएका छन् । स्पेनिस कर कार्यालयले रियल म्याड्रिडका पूर्व स्ट्राईकर रोनाल्डोलाई कर छलीको आरोपमा यसअघि अदालतमा मुद्दा दायर गरेको थियो ।
 अदालतले रोनाल्डोमाथि कर छली मुद्दामा दोषी ठहर गर्दै १८.८ मिलियन युरो जरिवाना तिराउने र २३ महिनाको जेल सजायको फैसलासमेत गरेको छ ।

६ महिला अघि स्पेन छाडेर इटालियन क्लब युभेन्टसका पुगेका ३३ बर्षीय रोनाल्डो कर छली मुद्दाको फैसलाका क्रममा मंगलबार म्याड्रिड पुगेका थिए । 

रोनाल्डोले अदालतको फैसला स्वीकार गरेका छन् । अदालतले जेल सजायको फैसला गरे पनि रोनाल्डोले जेल नै जानुपर्ने चाहिँ छैन । स्पेनको कानुनअनुसार दुई वर्षसम्मको जेल सजायका लागि जेल जानु पर्दैन । त्यसबापत थप जरिवाना तिरे पुग्छ ।

रोनाल्डो सन् २००९ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिड गएका थिए । उनलाई २०११ देखि २०१४ को बीचमा विभिन्न चार शीर्षकका कर छलेको आरोप लागेको थियो ।

 उनले १४ करोड ७६ लाख ६८ हजार आठ सय ९७ युरो बराबर आम्दानीको कर नतिरेको भन्दै कर कार्यालयले छानबिन गरिरहेको थियो ।

रोनाल्डोसँगै स्पेनका अन्य स्टार फुटबल खेलाडीहरु  कर छलीको मुद्दामा पटक पटक दोषी ठहरिएका छन् । यसअघि बार्सिलोनाका लियोनल मेस्सी पनि कर छलीमा दोषी ठहर भएका थिए । 

प्रतिक्रिया दिनुहोस