फुटबलर साला चढेको विमान बेपत्ता

एजेन्सी

बुधबार, ०९ माघ २०७५, १३ : २१
फुटबलर साला चढेको विमान बेपत्ता

एजेन्सी । चर्चित अर्जेन्टिनी फुटबलर एमिलियानो साला चढेको विमान बेपत्ता भएको छ । भर्खरै मात्र महंगो रकममा इङ्लिस क्लब कार्डिफ सिटीमा आबद्ध भए भएका उनी चढेको विमान सोमबार रातिदेखि च्यानल आइल्यान्ड्सबाट हराएको हो । खेलाडी चढेको विमान हराएपछि यसको खोजी कार्य तिव्ररुपमा भईरहेको छ । तर एमिलियानो साला जीवितै भेटाईने सम्भावना भने निकै कम भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । विमानमा उनीसंगै अर्का व्यक्ति पनि सवार छन् ।

सोमबार राति च्यानल आइल्यान्ड्समा पुगेपछि साला चढेको विमानको सम्पर्क टावरसँग टुटेको थियो । नान्टेसबाट साँझ ७ः१५ बजे उडेको उक्त विमानको जर्सी एयर ट्राफिक कन्ट्रोलसँग अन्तिम पटक सम्पर्क भएको थियो । त्यतिबेला विमान पाँच हजार फिटको उचाइमा उडिरहेको र विमानका चालकले आपतकालीन अवतरणको अनुमति मागेको बताइएको छ । उनको खोजीका लागि डुंगादेखि हेलिकप्टरसमेत परिचालित गरिएको छ तर अहिलेसम्म विमानको कुनै अत्तोपत्तो भएको छैन।
सालाले मंगलबारदेखि नयाँ क्लब कार्डिफ सिटीमा अभ्यास गर्ने कार्यक्रम रहेको थियो । तर उनी अहिलेसम्म बेपत्ता छन् । साला फ्रान्सेली लिग फुटबलका प्रभावशाली खेलाडी हुन् । उनले यो सिजन फ्रेन्च लिग र फ्रेन्च कपमा क्लबका लागि १३ गोल गरेका छन् । उनी यो सिजन सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा केलियन एमबाप्पे र निकोलस पेपेपछि तेस्रो स्थानमा छन् । उनी चढेको विमान बेपत्ता भएसंगै उनका परिवार, खेल क्षेत्र र प्रशंसकहरुमा निकै दुख छाएको छ ।

प्रतिक्रिया दिनुहोस