काङ्ग्रेस हारेर ठीक भएको छ : विश्वप्रकाश शर्मा

मंगलबार, ०८ माघ २०७५, १९ : २३
काङ्ग्रेस हारेर ठीक भएको छ : विश्वप्रकाश शर्मा

दाङ । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्घीय, प्रदेश एवमं स्थानीय निर्वाचनमा काङ्ग्रेसले हारेर एकदम ठीक भएको बताउनुभएको छ । 
काङ्ग्रेस दाङ क्षेत्र नं ३ को क्षेत्रीय भेलालाई आज सम्बोधन गर्दै उहाँले काङ्ग्रेसले हारेको हुँदा पार्टी सुधारको मौका मिलेको र हारले गतिलो पाठ सिकाएर गएको धारणा राख्नुभयो । उहाँले पार्टीले हार व्यहोरेपछि नै पार्टीभित्र सुधारको सङ्केत देखिएको बताउनुभयो । 

उहाँले अहिले पार्टीभित्र ठूला नेताको मिलन हुनु, केन्द्रीय पदाधिकारीले पूर्णता पाउनु, सङ्घीय संरचनाअनुसार पार्टी कमिटी बन्नु, देशव्यापी छलफल गरेर विधान तयार हुनु नै काङ्ग्रेसको सुधारको सङ्केत भएको दाबी गर्नुभयो । पार्टीनिकट सबै भ्रातृ सङ्गठनले लोकतान्त्रिक परिपाटी अपनाएर नेतृत्व चयन एवम् छलफलका कार्यक्रम गरिरहेको उहाँले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस