योगलाई पाठ्यक्रममा समेट्ने शिक्षा मन्त्री पोखरेलको प्रतिबद्दता

सोमबार, ०७ माघ २०७५, २० : ०४
योगलाई पाठ्यक्रममा समेट्ने शिक्षा मन्त्री पोखरेलको  प्रतिबद्दता

फाईल तस्विर

भक्तपुर। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योगका बारेमा विद्यालय शिक्षामा समेट्ने गरी पाठ्यक्रम तयार पार्न लागेको बताएका छन् ।

नेपाल सरकारले तय गरेको ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने नारासहित मध्यपुर थिमि राधे–राधेमा राष्ट्रिय योग दिवस २०७५ को समापन कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् ।

पोखरेलले भने, “विद्यालय शिक्षामा सैद्धान्तिक रुपमा नै यसलाई समेट्दै विद्यालय पाठ्यक्रममा राख्ने गरी पाठ्यक्रममा तयार भइरहेको छ, हाम्रो सभ्यता र संस्कृति वैज्ञानिक छ, हाम्रो जडीबुटी, प्राकृतिक चिकित्सा र योगलाई विद्यालय शिक्षामा सैद्धान्तिक सहमति दिएर पाठ्यक्रममा तयार हुन लागेको छ ।”

योगलाई सबै जिल्लामा पुर्याएर यसमा विभिन्न छलफल गरी प्रभावकारी ढङ्गले अभियानका रुपमा लैजानुपर्नेमा उनले जोड दिए । अहिलेको परिस्थितिमा अनुकूल भएकाले विभिन्न खालको समस्याको समाधान गर्ने बताउँदै उनले शारीरिक र मानसिक रुपमा यसले मानव जीवनलाई सही बाटोमा काम गर्न अभिपे्ररित गर्ने बताए ।

कार्यक्रममा सांसद महेश बस्नेत, प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, मध्यपुर नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, योगगुरु हरिप्रसाद पोखरेललगायतले योगको महत्वबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस