निजी र सामुदायिक विद्यालयबीचको विभेद अन्त्य हुनुपर्छ : मुख्यमन्त्री

सोमबार, ०७ माघ २०७५, १५ : ०४
निजी र सामुदायिक विद्यालयबीचको विभेद अन्त्य हुनुपर्छ : मुख्यमन्त्री

चितवन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले निजी र सामुदायिक विद्यालयबीचको विभेद अन्त्य गर्न सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्नुपर्ने बताउनु भएको छ ।
आदिकवि भानुभक्त माध्यमिक विद्यालय भरतपुर–१ को स्वर्ण महोत्सवलाई सोमबार उद्घाटन गर्दै उहाँले निजी विद्यालयलाई सरकारले विस्थापित गर्नुभन्दा पनि सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नेतर्फ लागेको बताउनु भयो ।
“निजी सरह सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउँदै जानुपर्छ” उहाँले भन्नुभयो, “शिक्षाको गुणस्तर बढाउन पहिलो हात शिक्षकको हुन्छ भने दोस्रो अभिभावकको । निजीमा महँगो शूल्क तिरेर छोराछोरी पढाउन कसैको पनि मन हुँदैन ।”
आफूसँग एक दशकसम्म शिक्षण पेशा अंगालेको अनुभव रहेको भन्दै मुख्यमन्त्री पौडेलले शिक्षकको इच्छाशक्तिले मात्रै शैक्षिक क्षेत्रको विकास हुने बताउनुभयो । प्राविधिक शिक्षालाई सामुदायिक विद्यालयहरुले प्रथामिकतामा राखेर अगाडि बढ्नु पर्ने उहाँको भनाई थियो ।
“अहिलेको शिक्षा पद्धतिले देशमा बेरोजगार सिर्जना गरेको छ” उहाँले भन्नुभयो, “प्राविधिक शिक्षाले मात्र रोजगारी प्रदान गर्न सक्छ । अब अरुलाई दोष लगाएर होइन, आफ्नो समस्या आफै समाधान गर्नुपर्छ ।”
२०२५ सालमा स्थापना भएको विद्यालयमा १ हजार ५ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । यस विद्यालयमा नेपाली र अंग्रेजी माध्यमबाट शिशु कक्षादेखि १२ कक्षासम्म पढाई हुन्छ । प्राविधिक शिक्षातर्फ विद्यालयमा ३ बर्षे डिप्लोमा इन सिभिल ओभरसियर कोर्स संचालन भइरहेको छ ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयले सप्ताहव्यापी रुपमा खेलकुद प्रतियोगिता, योग शिविर, हजारीजवाफ प्रतियोगिता, फुड फेस्टिबल, विज्ञान प्रदर्शनी एवम् नृत्य प्रतियोगिता गर्न लागेको विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश सांसदद्वय विजय सुवेदी, घनश्याम दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस