रोनाल्डोले गोल गरेपछि युभेन्टसलाई सुपर कप उपाधि

एजेन्सी

विहीबार, ०३ माघ २०७५, ०९ : ३१
रोनाल्डोले गोल गरेपछि युभेन्टसलाई सुपर कप उपाधि

एजेन्सी । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेपछि युभेन्टसले एसी मिलानलाई हराउँदै इटालियन सुपर कपको उपाधि जितेको छ । साउदी अरेबियामा गए राति भएको खेलमा एसी मिलानलाई १-० गोल अन्तरमा हराउँदै युभेन्ट्सले कीर्तिमानी रूपमा आठौं पटक इटालियन सुपर कपको उपाधि जितेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६१ औं मिनेटमा रोनाल्डोले गरेको हेडर गोलनै युभेन्टसलाई उपाधि दिलाउन पर्याप्त रह्यो । उनले मिरालेम प्यानिचको पासमा गोल गरेका हुन् ।

खेलको अन्तिम ७५ मिनेटपछि मिलान १० खेलाडीमा समेटिएको थियो । फ्रान्क केसीले युभेन्टसका एम्रे च्यानलाई खराब ट्याकल गरेपछि रेफ्रीले सोझै रातो कार्ड दिएपछि मिलान १० खेलाडीमा समेटिएको थियो ।

पछिल्लो दुई सिजन लगातार फाइनलमा पराजित भएको युभेन्टसले बुधबार भने उपाधि जित्न सफल रह्यो । युभेन्ट्सले सन् २०१५ पछि पहिलो पटक उपाधि जितेको हो । अघिल्लो सिजनको उपाधि लाजियोले जितेको थियो। मिलानले भने हालसम्म सात पटक इटालियन सुपर कपको उपाधि जितिसकेको छ । पछिल्लो पटक मिलानले सन् २०१६ मा उपाधि हात पारेको थियो । सन् १९८८ मा पहिलो संस्करणको उपाधि पनि मिलानले नै जितेको थियो ।

प्रतिक्रिया दिनुहोस