दूधमा आत्मनिर्भर बन्दै माडी

सफल खबर संवाददाता

आइतबार, २९ पुस २०७५, १८ : २५
दूधमा आत्मनिर्भर बन्दै माडी

चितवन । माडी नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । ६ बर्षअघि दैनिक २५० लिटर दूध उत्पादन हुने यहाँ अहिले दैनिक पाँच हजार दूध उत्पादन हुन्छ । नेपाल दुग्ध विकास संस्थान (डीडीसी) ले ६ बर्षदेखि दूध खरिद गर्न थालेपछि कृषकहरु व्यवसायीक रुपमा गाई भैंसी पाल्न थालेका थिए । 

व्यवसायीक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज माडीका अध्यक्ष सूर्य भूसालका अनुसार ३५ जनाभन्दा बढी कृषकले व्यवसायीक रुपमा गाई र भैंसीपालन गर्ने गरेका छन् । उत्पादन भएको दूधलाई भण्डार गर्न माडी १ वरुवा र माडी ७ किर्तनपुरमा एक/एक वटा चिस्यान केन्द्र छन् ।

माडीमा ७ बर्षअघि व्यवसायीक गाई तथा भैंसीपालक कृषकहरु थिएनन्, अध्यक्ष भूसालले भन्नुभयो,“दुई बर्षदेखि माडीमा व्यावसायीक गाई तथा भैंसी पाल्न शुरु गरिएको हो । अहिले एक जनाले ५० वटासम्म गाई, भैंसी पालेका छन् ।”
माडीमा दूध विक्री गर्ने दृष्टिकोणले मात्र दैनिक ५ हजार लिटर उत्पादन हुन्छ । अरु दूध कृषकले आफै उपभोग गर्ने गरेको अध्यक्ष भूसालले जानकारी दिनुभयो । ४ हजार लिटर दूध डीडीसीले खरिद गर्न भने बाँकी १ हजार लिटर दूध स्थानिय वसन्तपुर तथा वरुवा बजारको डेरीबाट विक्री हुने गरेको छ ।

कृषकले दूध उत्पादनमा वृद्धि गर्ने उदेश्यले उनन्त जातका गाई तथा भैंसीहरु पाल्न शुरु गरेका छन्, अध्यक्ष भूसालले भन्नुभयो,“डीडीसीले सहकारी तथा निजी संस्थाहरुले सञ्चालन गरेका १२ वटा संकलन केन्द्रबाट दूध खरिद गर्छ । यस बर्षदेखि नगरपालिकाले डीडीसीमा दूध विक्री गर्नेलाई प्रति लिटर रु ३ का दरले अनुदान दिन्छ ।”

त्यसका लागि नगरपालिकाले रकम पनि बिनियोजन गरिसकेको छ । नगरपालिकाले दूध उत्पादक कृषकलाई प्रोत्सहन गर्न कृषि विकास बैंकसँगको सहकार्यमा साढे ४ प्रतिशत दरले ११ करोड सहुलियत कर्जाको व्यवस्था गरेको छ । चितवन देशकै धेरै दूध उत्पादन गर्ने दोस्रो जिल्ला हो । हाल चितवनमा दैनिक तीन लाख लिटर दूध उत्पादन हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस