चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले व्यावहारिक र गुणस्तरीय शिक्षा अबको आवश्यकता रहेको बताउनु भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा रहेको श्री अम्मरजंग गुरुङ किरण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै उहाँले समय अनुसार राष्ट्रको आवश्यकता पूरा गर्न वैज्ञानिक, व्यावहारिक र जीवन उपयोगी शिक्षा प्रणालीको विकास गर्नुपर्ने बताउनु भयो । कार्यक्रमको विशिष्ट अतिथि रहनु भएकी दाहालले सामुदायिक विद्यालयहरूले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम छौं भन्ने विश्वास दिलाउन आवश्यक भएको बताउनु भयो । अब सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरू प्रतिस्पर्धी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
संघीय गणतन्त्र घोषणासँगै विद्यालय शिक्षा स्थानीय निकाय माताहात आएको भन्दै मेयर दाहालले महानगरपालिकाभित्रका शिक्षण संस्थाहरूको नियमन र अनुगमन गर्दै अगाडि बढ्ने बताउनु भयो । सामुदायिक विद्यालयहरूको स्तर उन्नति र गुणस्तर कायम गर्न प्रमुख आवश्यकता रहेको बताउँदै उहाँले महानगरपालिकाले यस सम्बन्धी काम अगाडि बढाइरहेको बताउनु भयो ।
श्री अम्मरजंग गुरुङ किरण माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएकोमा बधाई दिँदै उहाँले यस विद्यालयको स्वर्ण स्तम्भ निर्माणका लागि भरतपुर महानगरपालिकाले आवश्यक सहयोग गरेको जानकारी गराउनु भयो । आउँदा दिनमा पनि महानगरपालिकाले रचनात्मक सहयोग गर्दै जाने उहाँले बताउनु भयो । प्रमुख दाहालले भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको पक्षमा अगाडि बढिरहेको बताउँदै ठुला पुर्वाधारहरू रिङरोड, लिङ्करोड, सिटी हल, रानीपोखरी पार्क निर्माणको काम पनि अगाडि बढिरहेको बताउनु भयो ।
मेयर दाहालले सिटी हल, अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान गौरवको आयोजनाको रूपमा अगाडि बढाइरहेको बताउनु भयो । भरतपुर महानगरपालिकालाई विकासको नमुना बनाउने कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको समुचित विकास र सुशासनको क्षेत्रमा भरतपुर महानगरपालिका अगाडि बढिरहेको उहाँले बताउनु भयो ।
स्वर्ण महोत्सव आयोजक समितिका संयोजक सुरेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद मिलनबाबु श्रेष्ठ रहनु भएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष कर्णबहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । २०१७ सालमा स्थापना भएको यस विद्यालयमा यसै वर्षदेखि प्राविधिक शिक्षातर्फ कृषि र भेटेरिनरीको पढाई सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ पुस २०७५, १८ : ०९
लेखकबाट थप