उत्तर र दक्षिण कोरियाबीच वार्ता सुरु

मंगलबार, २५ पुस २०७४, १० : ४५
उत्तर र दक्षिण कोरियाबीच वार्ता सुरु

सोल । उत्तर कोरिया र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता सुरु भएको छ ।पछिल्लो दुई वर्षमा पहिलो पटक दुई कोरियाबीच वार्ता भएको हो ।

उत्तर र दक्षिण कोरियाको अन्तराष्ट्रिय सीमामा पर्ने पनमुनजोम गाउँको ‘पिस हाउस’मा वार्ता भएको छ । यो वार्तामा २०१८ को शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताबारे छलफल हुनेछ ।

शीतकालीन ओलम्पिक दक्षिण कोरियामा हुँदैछ । वार्तामा दुई देशको सम्वन्ध सुधारबारे पनि कुराकानी हुने दक्षिण कोरियाले बताएको छ ।

नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्न चाहेको संकेत गर्दै आउँदो फेब्रुअरीमा सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्नो देशका खेलाडी सहभागी गराउन तयार रहेको बताएका थिए ।

त्यसपछि दक्षिण कोरियाले विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताको विषयमा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो । वार्ता प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेसँगै पछिल्लो दुई वर्षमा यी दुई मुलुकबीच पहिलो पटक छलफल हुन लागेको हो । वार्ताले दुई कोरियाबीचको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस