हामीलाई नराम्रो काम गर्ने छुट छैन : दाहाल

सफल खबर संवाददाता

आइतबार, २२ पुस २०७५, १७ : १९
हामीलाई नराम्रो काम गर्ने छुट छैन : दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफूहरुलाई नराम्रो काम गर्ने छुट नभएको बताउनु भएको छ । भरतपुर महानगरपालिका १२ नम्बर वडा कार्यालयद्वारा आयोजित नेतृत्व विकास एवं उद्घोषक तालिमको आज आइतबार उद्घाटन गर्दै उहाँले महिलाहरु पारदर्शी हुन्छन्, जिम्मेवार हुन्छन् भन्ने कुरा व्यवहारमा देखाउने बताउनु भयो ।

महिलाहरुले परिवार, समाज हुँदै राष्ट्रसम्म जिम्मेवारी सम्हानु पर्ने बाध्यता रहेको भन्दै उहाँले जस्तोसुकै परिस्थितिमा पनि महिलाहरु नेतृत्व सम्हाल्न सक्षम हुने बताउनु भयो । भरतपुर महानगरपालिकामा महिलाले नेतृत्व गरेको स्मरण गराउँदै उहाँले यो ऐतिहासिक जिम्मेवारी पूरा गरेर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । हिजोका संघर्षहरुले हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको भन्दै उहाँले अबको लडाई समान सहभागिताका लागि हुनुपर्ने बताउनु भयो ।

महानगरपालिकाले २९ वटा वडाका महिलाहरुको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै महानगर प्रमुख दाहालले यो अवसरको सदुपयोग गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो । महानगरले ठूला योजना अगाडि सारेर काम गरिरहेको बताउँदै उहाँले महानगरका विकास निर्माणका काममा सघाउन नगरवासीलाई आग्रह गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गरिरहनु भएका वडा नं. १२ का वडाध्यक्ष नरेन्द्र कन्दङवाले तालिम पश्चात् महिलाहरु नेतृत्व तहमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले महिलाहरुलाई माथि उठाउन आफूहरु लागिपरेको बताउँदै यसको सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।

वडा सदस्य बिमला भट्टराईको संयोजकत्वमा भएको कार्यक्रम शोभा ढकालले सञ्चालन गर्नुभएको थियो ।  कार्यक्रममा वडा सदस्यहरु देवी परियार र कृष्ण अधिकारीको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा गत आर्थिक वर्षमा सञ्चालित ब्यूटिसिन र सिलाई बुनाई तालिममा सहभागीहरुलाई महानगर प्रमुख रेनु दाहालले प्रमाणपत्र वितरण गर्नुभएको थियो । सात दिनसम्म सञ्चालन हुने तालिममा वडाका महिलाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस