काठमाडौं । कवि सरिता तिवारी चितवनमा बस्छिन् । सीमान्तकृत तथा उत्पीडितवर्ग र महिला अधिकारका विषय कविता तथा वैचारिक लेखका माध्यमबाट उठाउँदै आएकी समकालीन नेपाली साहित्यकी सशक्त हस्ताक्षर हुन्, तिवारी । उनका ‘बुद्ध र लाभाहरू’, ‘अस्तित्वको घोषणापत्र’ र ‘प्रश्नहरूको कारखाना’ कविता संग्रह प्रकाशित छन्। उनका वैचारिक लेखहरू पनि अखबारहरूमा प्रकाशित भइरहन्छन् । प्रगतिशील विचारधाराबाट लेखिएका उनका कविता तथा लेखले नेपालको समाजशास्त्रीय चिन्तन प्रणालीमाथि पनि खरो विमति राख्ने गरेका छन् ।
पोखरालाई कर्मथलो बनाएर साहित्य लेखनमा सक्रिय सरस्वती प्रतीक्षा समकालीन नेपाली साहित्यमा सशक्त हस्ताक्षर हुन्। पछिल्लो समय पहिचान साहित्यमा सक्रिय उनका ‘यद्यपि प्रश्नहरू’, ‘विम्बहरूको कठघरा’ कविता संग्रह प्रकाशित छन् भने ‘नथिया’ उपन्यास चर्चामै छ । उनको उपन्यास ‘नथिया’ले यस वर्षको पहिचान पुरस्कार जितेको छ । अखबारी लेखनमा पनि उत्तिकै सक्रिय उनको लेखनले उत्पीडित समुदायको आवाजलाई मुखरित गर्दै आएको छ । एक–अर्कालाई नजिकबाट चिन्ने यिनै दुई समकालीन साहित्यिक हस्तीहरूले ‘एकको नजरमा अर्को’लाई कसरी हेर्छन् भनेर नयाँ पत्रिकाले बुझ्ने प्रयास गरेको छ ।
सरस्वती प्रतीक्षाको नजरमा सरिता तिवारी
सरिता तिवारीलाई कसरी चिन्नुहुन्छ ?
सरितासँगको सम्बन्ध २० वर्षभन्दा पुरानो हो । एक कविको रूपमा चिन्नुअघि नै एक साथीका रूपमा चिनेकी हुँ, मैले उनलाई । कुनैवेला हामीले पढ्ने कलेजदेखि पढाउने स्कुल र खाना खाने होटेलसमेत एउटै हुने गथ्र्यो । एउटी पुरानो साथी तथा हाम्रो पुस्ताकी प्रखर कवि तथा निबन्धकारका रूपमा चिन्छु ।
उहाँको लेखनशैलीसँग के कारणले सहमत हुनुहुन्छ ?
सहमत वा असहमतभन्दा पनि मन पराइको डिग्रीको कुरा गरौँ न ! सरिताको लेखन र लेखनशैली मन पर्नुका कारणहरूमा उनको लेखनमा मिसिएको राजनीतिक चेत, समाजका जल्दाबल्दा मुद्दाप्रतिको उनको चासो र जवाफदेहिता, महिलाका इस्युमा कडाइका साथ उनको उपस्थिति, उनमा निहित बौद्घिकता र लेखनमा झल्कने बोल्डनेसले सहमत हुन्छु ।
उहाँको कृतिमाथि समीक्षा गर्नुपर्यो भने व्यक्तिगत सम्बन्धले कत्तिको प्रभाव पार्छ ?
बिल्कुलै पार्दैन । फिल्म मंटोमा एउटा डायलग छ, ‘निमके पत्ते कडवे सही, खुन तो साफ करता है ।’ साथीहरूको सन्दर्भमा पनि म यस्तै छु । जसलाई म नजिकको ठान्छु, उनीहरूको रचनाप्रति इमानदार प्रतिक्रिया दिनुपर्छ भन्ने लाग्छ । दिँदै आएकी पनि छु । अधिकांश भेटमा हामी एक–अर्काको तारिफ मात्र गर्दैनौँ, एक–अर्काको रचना र जीवनशैलीको राम्रै शल्यक्रिया पनि गर्छौं । हामी साथी–साथी मात्र होइनौँ, एक–अर्काको कट्टर आलोचक/समालोचक पनि हौँ ।
उहाँको लेखनशैलीको कमजोर पक्ष के हो ?
सरिता समाजलाई अधिकांशतः केवल माक्र्सवादको आँखाले मात्र हेर्न रुचाउँछिन् । उनको हरेक दृष्टिकोण र व्याख्या माक्र्सवादकै सेरोफेरोमा अल्झिएको हुन्छ । उनको आस्था र सोचाइको सीमित घेरोले गर्दा उनी जति फैलनुपर्ने हो, त्यति फैलन नसकेजस्तो लाग्छ । माक्र्सवादको फ्रेमबाहिर पनि थुप्रै फ्रेम छन्, जसलाई उनले आफ्नो लेखनका क्रममा नजरन्दाज गरेको पाइन्छ । पछिल्लो चरणमा कथित माक्र्सवादीहरूको भन्डाफोर गर्नमा उनको कलम चल्दै आउनुले भने बिस्तारै सरितामा आएको परिपक्वताको संकेत मिल्छ ।
उहाँको सबैभन्दा राम्रो र बलियो पक्ष के लाग्छ ?
स्पष्ट, निर्भीक र जुझारु स्वभाव छ सरिताको, जुन मलाई निकै मन पर्छ । कोही रिसाउला वा खुसाउला भन्नेभन्दा पनि आफूले देखेको र आफूलाई लागेको कुरा भन्न र लेख्न हिच्किचाउँदिनन् । रिजर्भ बसिदिँदा पनि हुने कति झिनामसिना कुरामा पनि छुच्ची भएर प्याच–प्याच बोलिरहेकी हुन्छिन् कहिलेकाहीँ । फेरि पनि सरिताजतिको निडर, निर्भय र लडाकु लेखक कमै मात्र होलान्, नेपाली साहित्यमा ।
सरिता तिवारी के कारणले स्थापित लेखिका हुन् ?
निःसन्देह, उनको लेखनशक्तिका कारणले स्थापित लेखिका हुन् ।
सरिता तिवारीको नजरमा सरस्वती प्रतीक्षा
सरस्वती प्रतीक्षालाई कसरी चिन्नुहुन्छ ?
सरस्वती प्रतीक्षा एक हस्तक्षेपकारी लेखक त हुँदै हुन्, मेरा लागि एक हितैषी मित्रसमेत हुन् । हामीले धेरै संवेदनशील घडीहरू सँगै बिताएका छौँ ।
उहाँको लेखनशैलीसँग के कारणले सहमत हुनुहुन्छ ?
उनीसँग जुन स्तरको ‘गट्स’ छ, त्यो लोभलाग्दो छ । गद्यमा उनको भाषा बढी आकर्षक छ । यो उनको सामथ्र्य पनि हो ।
उहाँको कृतिमा समीक्षा गर्नुपर्यो भने व्यक्तिगत सम्बन्धले कत्तिको प्रभाव पार्छ ?
साथी पनि समकालीन लेखक पनि एकैसाथ हुनुपर्दा अलिकति असहज त हुँदोरहेछ । तर, समीक्षा वा सिर्जनात्मक आलोचनाकै कारण सम्बन्धमै अप्ठ्यारो परेको स्थिति छैन । मैले उनका रचनामाथि प्रायः व्यक्तिगतस्तरमै प्रतिक्रिया दिएकी छु । लेखनको सुरुको चरणमा त हामी एक–अर्काका पहिलो पाठक नै हुने गथ्र्यौं । हामीले एक–अर्कालाई सच्याइदिएका पनि हुन्थ्यौँ । पछिल्लो समय त्यस्तो हुने गरेकोचाहिँ छैन ।
उहाँको लेखनशैलीको कमजोर पक्ष के होे ?
‘नथिया’ एउटा लोकप्रिय उपन्यास बनेको छ । यो उनका लागि मात्र नभई धेरै लेखक र खासगरी महिला लेखकका लागि उत्साहवद्र्धक हो । ‘नथिया’ लेख्न बस्दा वादी महिलाको आन्दोलनको ‘सेन्टिमेन्ट’मा थालिएको भनेकी छिन् उनले, लेखकीय खण्डमा । तर, किताबले जति बलियो कथा पक्रेको छ, त्यही अनुपातले वादी महिलाको आन्दोलनको मर्मतर्फ प्रवेश गरेको छैन । यसो हुन्थ्यो भने उपन्यास धेरै नै प्रभावशाली हुन्थ्यो भन्ने मेरो टिप्पणी हो । एउटी वादी महिलाको उत्पीडन र कोलाहलमय जीवनको कथा त आयो, तर पछाडि गएर उसलाई सत्तासित प्रश्न गर्ने आन्दोलनकारी नबनाई चुपचाप किनारा लागेर बसेकी प्रेम र त्यागकी मूर्ति बनाइयो । सिंहदरबारको पर्खाल चढ्ने पेटिकोटधारी आन्दोलनकारी वादी महिला दृश्यमान हुनै सकिन । मुद्दामा लेख्न बसेपछि अति भावुकताबाट मुक्त भएको भए हुन्थ्यो भन्ने लाग्छ ।
उहाँको सबैभन्दा राम्रो र बलियो पक्ष के लाग्छ ?
निजी जीवनको मामिलामा सरस्वती प्रतीक्षा दुस्साहसी मान्छे हो । उनलाई अर्को व्यक्तिले के सोच्ला भन्ने सोचिरहने झमेला गर्नु छैन । यो एक हिसाबले स्वार्थी कुरो पनि हो । तर, एउटा सफल व्यक्तिका लागि यो जरुरी छ भन्ने लाग्छ । दुनियाँको फिक्री लिएर, आफैँमा पिल्सिएर बाँच्ने मान्छे होइन ऊ । यो ठीकै पनि त हो !
सरस्वती प्रतीक्षा के कारणले स्थापित लेखिका हुन् ?
साधना र भाषाले । मुखरता भने अझै अपेक्षित छ । - नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस