महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीहरुलाई सहयोग

सफल खबर संवाददाता

बुधबार, १८ पुस २०७५, १७ : ०७
महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीहरुलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गरेको छ । बैंकको भैरहवा शाखाले मंगलबार सिद्घार्थनगर, रुपन्देहीस्थित श्री बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि एक कार्यक्रम आयोजना गरी २ थान कम्प्युटर, २०० वटा उनीको टोपी तथा १ थान वाटर डिस्पेन्सर सहयोग स्वरुप प्रदान गरेको छ । प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य सन्तोष पाण्डेको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिद्वय बैंकका सञ्चालक राहुल अग्रवाल तथा बहिरा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खिमलाल पुरी रहनु भएको थियो । कार्यक्रममा मन्तव्य दिँदै खिमलाल पुरीले बैंकप्रति कृतज्ञता व्यक्त गर्नुका साथै बैंकको उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो । 

बैंकको खुरखुरे शाखाले गत मंसिर २२, २०७५ मा राप्ती नगरपालिका १०, चितवनस्थित राष्ट्रिय आधारभुत विद्यालयका कक्षा १ देखि ३ मा अध्ययनरत विद्यार्थीहरुका लागि १०५ थान उनी स्वेटर प्रदान गरेको थियो । आर्थिक स्थिति निकै नै कमजोर भएका चेपाङ्ग विद्यार्थीहरुको बाहुल्यता रहेको सो विद्यालयका विद्यार्थीहरुको जाडो याममा पठनपाठन सहज बनाउने हेतुले सहयोग गरिएको थियो । यसैगरी बैंकको मंगलसेन शाखाले पुस ४, २०७५ गते अछाम बहुमुखी क्याम्पस मंगलसेनमा अध्ययनरत ११ जना योग्य विद्यार्थीहरुलाई तेत्तीस हजार रुपैयाँ छात्रवृत्ति स्वरुप प्रदान गरेको थियो ।  
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
 

प्रतिक्रिया दिनुहोस