भरतपुर महानगरमा पूर्वाधार निर्माणले गति लियो, नारायणगढमा यस्तो बन्दैछ बहुउद्देश्यीय भवन

सफल खबर संवाददाता

सोमबार, १६ पुस २०७५, १५ : ०१
भरतपुर महानगरमा पूर्वाधार निर्माणले गति लियो, नारायणगढमा यस्तो बन्दैछ बहुउद्देश्यीय भवन

चितवन । भरतपुर महानगरपालिकामा पछिल्लो समय एकपछि अर्को ठूला पूर्वाधार निर्माणको काम अघि बढिरहेका छन् । 
केही समय अन्यौल बनेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रामपुरमा बन्ने भएको छ । भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनको सहकार्यमा क्रिकेट रंगशाला निर्माणको काम अघि बढेको छ । ५० करोडको लागतमा जिल्ला समन्वय समितिले उपलव्ध गराएको जग्गामा सिटी हल निर्माणको काम पनि अगाडि बढ्ने पक्का भएको छ । लामो समय अन्यौल रहेको सिटी हलले पनि अब पूर्णता पाउने भएको छ । 
भरतपुर महानगरपालिकाले रिंगरोड र लिंकरोडको काम पनि अगाडि बढारहेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकामा एकपछि अर्को ठूला पूर्वाधार निर्माणको काम अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिटी हल, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सँगसँगै अघि बढ्छ, नारायणगढमा बन्ने बहुउद्देश्यीय व्यावसायिक भवनको निर्माणको काम पनि अगाडि बढेको छ ।’ उहाँले रिंगरोड लिंकरोडको कामले पनि तीव्रता पाएको बताउनुभयो । देवघाटमा विद्युतीय शवदाह गृह निर्माणमा पनि भरतपुर महानगरले बजेट उपलव्ध गराएको छ । 
महानगर प्रमुख दाहालका अनुसार महानगरपालिकाले लायन्सचोकमा रहेको पुरानो सव्जीमण्डी रहेको जग्गामा बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण गर्न लागिएको हो । सो क्षेत्रमा भरतपुर महानगरको १० कठ्ठा १५ धुर जग्गा छ । महानगर प्रमुख दाहालले भन्नुभयो, ‘भरतपुर महानगरमा एकपछि अर्को पूर्वाधार निर्माणको काम अघि बढेका छन्, अब झन्डै ४ वर्षको अवधिमा भरतपुर महानगर हरेक दृष्टिकोणले देशकै हेर्नलायक नमुना महानगरको रुपमा परिणत हुनेछ ।’

महानगर प्रमुख दाहालले नारायणगढको लायन्सचोकमा बहुतलाको बहुउद्देश्यीय भवनको नक्साङ्कनको काम भइरहेको बताउनुभयो । महानगरपालिकाले अरनिको डिजाइनर्स एण्ड प्लानर्स प्रालिलाई नक्साङ्कनको जिम्मा दिएको छ । नक्साङ्कनलाई अन्तिम रुप दिनमात्र बाँकी रहेको छ । 
भूमिगत तला पार्किङको व्यवस्था गरिने छ । एक हजार ७१२ स्क्वायर मिटरको भूमिगत तलामा ५० गाडी र ६५ मोटरसाइकल अट्ने छन् । भुइँ तला एक हजार ५१५ स्क्वायर मिटरको छ । चार तलासम्म सोही हाराहारी क्षेत्रफलको हुनेछ । त्यसपछि क्रमश क्षेत्रफल घट्दै जानेछ । 
चार तलासम्म व्यावसायिक सटर हुनेछन् भने त्यसमाथि दुई व्यावसायिक हल, दुई सिनेमा हल, जिमहल, फुडकोट, रेष्टुरेन्टहरु हुनेछन् । बहुउद्देश्यीय भवन देशकै नमुना बन्ने महानगर प्रमुख दाहालको भनाइ थियो । 
भरतपुर महानगरपालिका प्रमुख दाहालले शहरी विकास कोषको सहयोगमा भवन बनाउन लागिएको बताउनुभयो । यकिन लागत आई नसके पनि करिब ८० करोडको हाराहारी खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो । यस भवन बनेसँगै बजारको व्यवस्थापनमा सहजता आउने उहाँले बताउनुभयो । भवनलाई आकर्षक बनाइने भन्दै उहाँले व्यवस्थित बजार विकासमा सहयोगी बन्ने बताउनुभयो । 
महानगरपालिका वडा नं ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले महानगरको मुख्य बजार नारायणगढ क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउन बहुद्देश्यीय भवन बनाउन लागिएको बताउनुभयो । सो ठाउँको तरकारी बजार क्षेत्रपुरमा सरेपछि त्यहाँ भवन बनाउने प्रक्रिया अघि बढेको हो ।  केही दिनमानै नक्साङ्कनको टुङ्गो लागेर निर्माणको प्रक्रिया अघि बढ्ने महानगरले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस