नारायणगढ । उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार सहनलाल प्रधानले व्यवसायीको साथ र हौसलाले आफू उत्साहित भएको बताउनु भएको छ ।
नारायणगढमा आइतबार व्यावसायिक भेटघाट र घरदैलोका क्रममा व्यवसायीसँग कुराकानी गर्दै प्रधानले आफू सँधै व्यावसायिक हकहितमा लग्ने बताउनु भयो । उहाँले अहिलेसम्म कुनै व्यवसायीको अहितमा काम नगरेको भन्दै आगामी दिनमा व्यवसायीको समस्यामा साथ दिने बताउनु भयो ।
प्रधानसहितको प्यानलले नारायणगढको मेनरोड, कमलनगर, शहीदचोक, बेलचोक, धर्मचोक र लंकुका विभिन्न ठाउँमा घरदैलो सम्पन्न गरेको छ । प्रधान प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ, उपाध्यक्षमा भोजराज कौडाल, चिरञ्जीवी सुवेदी र सुमन श्रेष्ठ उम्मेदवार बन्नु भएको छ । उद्योग वाणिज्य संघ चितवनको ५१ औं साधारण सभा तथा अधिवेशन पुस २९ र ३० गते हुँदैछ ।
यसैबीच, अटो मेकानिकल व्यवसायी संघ चितवनले प्रधान प्यानललाई सघाउने भएको छ । अटो संघका पूर्वअध्यक्ष बलराम भण्डारी प्रधान प्यानलबाट वाणिज्यतर्फको उम्मेदवार रहनु भएकोले प्रधान प्यानललाई समर्थन गरेको अटो संघका अध्यक्ष राम लोहनीले जानकारी दिनुभयो । आधिकारिक निर्णय नभएपनि अटो संघले प्रधान प्यानललाई सघाउने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस