बुटवल। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाह्य उडान थपिँदै गएपछि काठमाडौं केन्द्रित ट्राभल एजेन्सीहरूले इन्टरनेशनल टिकटमा ‘कार्टेलिङ’ गरेको भन्दै लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीहरूले गुनासो गरेका छन् । भैरहवा ५ वटा अन्तर्राष्ट्रिय उडान शुरू भएसँगै एयर फेयरमा काठमाडौंबाट भइरहेको ‘कार्टेलिङ’ रोक्न उनीहरूले माग गरेका छन् ।
नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट) लुम्बिनी प्रदेशले शनिबार बुटवलमा गरेको 'गौतमबुद्ध विमानस्थल नियमित उडानको लागि पर्यटन व्यवसायीको भूमिका' विषय कार्यक्रममा उनीहरूले ‘सेटिङ’मा टिकट बाँडिएको दाबी गरे ।
नाटाका सदस्य अनिलकुमार श्रेष्ठले पहिले टिकट काट्दै आएको अहिले भैरहवा विमानस्थल चलेपछि टिकट काट्न नपाएको बताए । ‘भैरहवा विमान आउनुभन्दा अघिसम्म टिकट सजिलै काट्न पाइन्थ्यो अहिले विमान आएपछि टिकट काट्न नै पाइएन,’ श्रेष्ठले भने ।
अर्का पर्यटन व्यवसायी सुदीप श्रीवास्तवले टिकटमा काठमाडौं फेयर सस्तो र भैरहवाबाट फेयर महँगो गरिएको बताए । ‘भैरहवामा ल्याण्डिङ, पार्किङ शुल्क नभएकाले टिकट सस्तो हुनुपर्ने हो,’ उनले भने, ‘काठमाडौंभन्दा भैरहवामा सस्तो हुनुपर्नेमा झन् १५ देखि २० हजार महँगो राखिएको छ ।’
नाटा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले भैरहवा विमानस्थल सञ्चालनका लागि सबैको हातेमालो र ऐक्यबद्धता आवश्यक रहेको बताउँदै एयर टिकटमा भ्याटको अन्त्य हुनुपर्ने बताइन् ।नाटा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम शाहले भैरहवा विमानस्थलमा अवसर र चुनौती दुवै रहेको बताउँदै दीर्घकालीन रुपमा सञ्चालनको लागि कूटनीतिक पहल आवश्यक रहेको बताए ।
उनले भैरहवासँगै देशका अन्य विमानस्थलबाट पनि उडान सञ्चालन आवश्यक रहेको बताए ।यस्तै, पर्यटन व्यवसायी सागर अधिकारीले भैरहवा विमानस्थल प्रयोग गर्न आग्रह गरे । ६० प्रतिशत यात्रु यही क्षेत्रका भएकाले पनि सकेसम्म विदेश जाने र आउनेले काठमाडौं केन्द्रित मानसिकता परिवर्तन गर्नुपर्ने उनको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ मंसिर २०८१, १६ : ०८
लेखकबाट थप