ब्रिटिस काउन्सिलले लिने आइइएलटिएसको परीक्षामा प्रश्नपत्र लिक गराएर परीक्षा उत्तीर्ण गराउने धन्दामा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । विद्यार्थीसँग रकम असुल्ने तीन जनाबिरुद्ध प्रहरीले ठगी मुद्दा चलाएको छ ।
झापा घर भइ हाल बालुवाटार बस्दै आएका सुरज लामा, बझाङ घर भइ हाल लैनचौर बस्दै आएका गणेशराज उपाध्यय र स्याङ्जाका विधान आचार्यविरुद्ध मुद्दा चलाइएको हो । लामा ब्रिटिस काउन्सिलका एजेन्ट समेत हुन् । उनको डिल्लीबजारमा कन्सल्टेन्सी छ ।
आइतबार म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
आईईएलटीएस परीक्षाको प्रश्नपत्र ‘खरिद–बिक्री’ भइरहेको सुराकी पाएपछि काठमाडौं प्रहरी परिसरले शुक्रबार अपरेशन चलाएको थियो । त्यसक्रममा सुन्धारास्थित एक गेस्टहाउसमा लेनदेन भइरहेको अवस्थामा विद्यार्थीसहित १३ जनालाई पक्राउ गर्यो ।
पक्राउ मध्ये विद्यार्थीहरुलाई प्रहरीले शनिबारै छाडिसकेको छ । आईईएलटीएस परीक्षाको प्रश्नपत्र पाउने आशमा एजेन्टलाई पैसा बुझाएका विद्यार्थीहरुको आइतबार काठमाडौं प्रहरी परिसरमा भिड नै लाग्यो । प्रहरीका अनुसार लामो समयदेखि प्रश्नपत्र विक्री वितरणमा हुँदै आएको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस