रुपन्देही । देवदहका व्यवसायी बसन्त पौडेलको हत्यामा भारतीय मोटरसाइकलको प्रयोग भएको खुलेको छ । बिहारको बैसाली भन्ने ठाउँबाट चोरीएको मोटरसाइकलमा उनीहरुले नक्कली नेपाली नम्बरप्लेट राखेर प्रयोग भएको अनुसन्धानमा खुलेको छ ।
हत्यामा प्रयोग भएको मोटरसाइकल शनिबार प्रहरीले बेबारिसे अवस्थामा भेटाएको छ । लु १ च १४ नम्बर राखेर उक्त मोटरसाइकल हत्यामा संलग्न समूहले प्रयोग गरेको थियो ।
पौडेललाई शुक्रबार दिउसो आफ्नै फर्निचरमा गोली हानी हत्या गरिएको थियो । अपराधीहरुले निकै योजनाबद्ध रुपमा हत्या योजना बनाएकाले उनीहरुले चोरीको मोटरसाइकल प्रयोग गरेका हुन् । हत्यामा मनोज पुन समूहको संलग्नता आशंका गरिएको छ ।
अनुसन्धानमा सिआईबी खटियो
घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)बाट टोली खटिएको छ । सिआईबीका एसएसपी धनश्याम अर्यालको नेतृत्वमा एक टोली देवदह पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि डिएसपी धर्मराज भण्डारीको संयोजकत्वमा छानबिन अघि बढाएको छ। हत्यामा संलग्नहरु भारत भागिसकेको प्रहरी आशंका छ ।
दोस्रो दिन पनि रुपन्देही बन्द
आइतबार पनि मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै रुपन्देही बन्द गरेका छन् । प्रहरीले सुरक्षा दिन नसकेको भन्दै उनीहरुले नाराबाजी समेत गरेका छन् ।
गत वर्ष सोही ठाउँमा युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो । सो घटनाका मुख्य नाइकेहरु पक्राउ नपर्दा तिवारीका साथी तथा युवा संघमा आबद्ध रहेका पौडेल पनि मारिएका छन् ।
प्रतिक्रिया दिनुहोस