पाँच बर्ष वाम गठबन्धनकै सरकार बन्छ : नारायणकाजी श्रेष्ठ

शनिबार, २२ पुस २०७४, १६ : ५९
पाँच बर्ष वाम गठबन्धनकै सरकार बन्छ : नारायणकाजी श्रेष्ठ

गोरखा । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच बर्ष वाम गठवन्धनको सरकार बन्ने  बताएका छन् ।
वाम गठवन्धन निकट कर्मचारी संगठनद्धारा पश्चिमकालीमा आयोजित निर्वाचित जनप्रतिनिधि स्वागत कार्यक्रममा सहभागी हुन आएका श्रेष्ठले भने,  ‘अहिले बाहिर दुई वटा हल्ला चलेको छ, एउटा काग्रेस र अरु दुई पार्टीको सहयोग लिएर माओवादीले सरकार बनाउने, अर्काे एमालेले फोरमसँग मिलेर सरकार बनाउने’ ‘तर यो सबै हल्ला मात्र हो, अबको सरकार वाम गठबन्धनकै बन्छ, अरुको होइन ।’

कांग्रेसले सत्ता ओगटेर बस्ने प्रवृति देखाएका कारण मात्र नयाँ सरकार गठनमा ढिलाइ भएको उनले बताए । श्रेष्ठले संवैधानिक व्यवस्था र राष्ट्रिय सभाको ऐन निर्माणअघि निर्वाचन भएकाले पनि सरकार गठनमा ढिलाइ भएको बताए ।

सरकार गठनसँगै एमाले र माओवादीको पार्टी एकीकरणका लागि प्रारम्भिक गृहकार्य भइरहेको उनको भनाइ छ । ‘आज दुई पार्टीका अध्यक्षबीच छलफल हुनेछ, भोलि पार्टी एकता संयोजक समितिको बैठक बस्छ र छलफल अगाडि बढ्छ,’ उनले भने ।

एमाले अध्यक्ष केपी ओली उपचारका लागि बिदेश जानुअघि नै केही सहमति गर्ने उनले बताए । माओवादी नेता श्रेष्ठले अघि भने, ‘वैचारिक राजनितिक र संगठनात्मक संरचनाको आधार के हुने भन्ने बारेमा छलफल गरेर पार्टी एकताका लागी अघि बढ्छौं ।’

प्रतिक्रिया दिनुहोस