वसन्त पौडेलको हत्यामा पनि मनोजको संलग्नता, हत्याविरुद्ध बुटवल बन्द

शुक्रबार, २१ पुस २०७४, १६ : ४८
वसन्त पौडेलको हत्यामा पनि मनोजको संलग्नता, हत्याविरुद्ध बुटवल बन्द

बुटवल । शुक्रबार ३५ बर्षीय वसन्त पौडेल (बलु )को हत्या भएको बिरोधमा बुटवल बन्द गरिएको छ ।  रुपन्देहीको देवदह नगरपालिकामा वाड नम्बर २ ढेकावारमा गोली प्रहारबाट पौडेलको हत्या भएको थियो । तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित स्थानीय युवाहरुले शुक्रबार १२ बजेदेखी बुटवल बन्द गरेका हुन् । बन्दबाट पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारी साधन ठप्प भएका छन् ।

अज्ञात व्यक्तिको गोली प्रहारबाट शुक्रवार बिहान सवा ११ बजे पौडेलको हत्या भएको थियो । गोली प्रहार भएलगत्तै लुम्बिनी अञ्चल अस्पताल पुर्याइएका पौडेललाई  चिकित्सकहरुले लगत्तै मृत घोषणा गरेका थिए ।

पौडेल देवदह गाविसका पूर्वअध्यक्ष तथा एमाले स्थानीय नेता निलकण्ठ पौडेलका एक्ला छोरा हुन् । एक बर्षअघि सोही गाउँमा युवा संघका नेता दुर्गा तिवारीको पनि हत्या भएको थियो । बसन्त दुर्गाका नजिकका साथी थिए ।

शनिवार हत्याको विरोधमा रुपन्देही बन्द गर्ने युवा संघका अध्यक्ष नकुल शाह ठकुरीले बताए । घटनालगत्तै आफूलाई मलेसियाबाट मनोज पुन बोलेको बताउने व्यक्तिले बुटवलका केही सञ्चारकर्मीलाई फोन गरी हत्या आफूले गरेका बताएका छन् ।  मनोज पुन तिनै हुन्, जो दुर्गा तिवारी हत्याकाण्डपछि फरार छन् । व्यवसायी शरद गौचनको हत्यामा पनि उनको संलग्नता देखिएको भन्दै प्रहरीको उनको खोजी गरिरहेको छ ।

एक बर्षअघि पनि उनले फोन गरी दुर्गा तिवारीको हत्या आफूले गराएको दाबी गरेका थिए । गोली कसले चलायो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटबलका डीएसपी पवन भट्टराईले बताए ।

गोली प्रहार गर्ने व्यक्ति कालो डिस्कभर मोटरसाइकलमा रोहिणी खोला तिर भागेको स्थानीयले बताएका छन् । हत्यामा संलग्नको पहिचान नभएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस