राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई गति दिन प्रधामन्त्रीको निर्देशन

शुक्रबार, २१ पुस २०७४, १४ : १६
राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई गति दिन  प्रधामन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालयहरुलाई सक्रियताका साथ लाग्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले निर्वाचनमा केन्द्रित हुनु परेकाले केही समययता विकास, निर्माणको कामले अपेक्षा गरे अनुसार उपलब्धि हासिल गर्न नसकेको पनि स्पष्ट पार्नु भयो । उनले चालू आर्थिक वर्षको बाँकि अवधि लक्षित उपलब्धि हासिल गर्न केन्द्रित हुने आश्वासन पनि दिए ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ४१ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौं– निजगढ दू्रतमार्ग निर्माण, भैरहवा, पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गति दिन पनि सम्बन्धित मन्त्रालयलाई पुनः निर्देशन दिनु भयो । समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री देउवाले तीन वटै तहको निर्वाचन सम्पन्न भएकाले अब विकास, निर्माणको कामले गति लिने विश्वास पनि व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले स्थानीय तह र प्रदेशसभालाई आवश्यक जनशक्तिको तत्काल व्यवस्थापन गरी त्यहाँको कामलाई प्रभावकारी बनाउन पनि सम्बन्धित मन्त्रालयलाई सचेत गराए । उनले आवश्यक जनशक्ति र वित्तिय व्यवस्थापन गरी प्रादेशिक र स्थानीय तहको विकास, निर्माणको कामलाई तीव्रता दिन सरकार प्रतिबद्ध रहेको पनि बताए ।

निर्वाचनका कारण खर्च धान्न कठिन
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिय वाग्ले चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको प्रगति समिक्षा विवरण पेश गर्दै निर्वाचनका कारण खर्च धान्न कठिनाई भईरहेको स्पष्ट पारे । उनले पछिल्लो चार महिनाको खर्च राजस्वबाट खर्च धान्न समेत कठिनाई भएकाले वैदेशिक सहायतामा भरपर्नुपर्ने अवस्था आएको पनि उल्लेख गरे ।

चालू आर्थिक वर्षको प्रथम चौमासिकमा आर्थिक वृद्धिदरको तुलनामा खर्च बढेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वाग्लेले प्रथम चौमासिक खर्च करिब १ खर्ब ८४ अर्ब ५ करोड पुग्न गएको जानकारी दिए । निर्वाचनका कारण प्रथम चौमासिक खर्च बढन गएको समिक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी पछिल्लो चार महिनामा राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन उत्साहजनक रहेको पनि समिक्षा प्रतिवेदनमा दावी गरिएको छ ।

 


 

प्रतिक्रिया दिनुहोस