थप व्यापार बृद्धिका लागि राष्ट्रपति सिको आह्वान

एजेन्सी

मंगलबार, १८ मंसिर २०७५, १४ : ०१
थप व्यापार बृद्धिका लागि राष्ट्रपति सिको आह्वान

सिटी । चीनका राष्ट्रपति सी जिनपिङले सोमबार पनामास्थित व्यापारिक समुदायसमक्ष चीन र पनामाबीच सहयोग र समन्वयको बृद्धिका लागि आग्रह गर्नुभएको समाचार छ । 

उहाँले पनामाको राजधानी पनामा सिटीमा आयोजित एक कार्यक्रममा त्यहाँका व्यापारिक समुदायलाई सम्बोधन गर्ने क्रममा दुई देशबीच सहयोग र समन्वयको बृद्धि गरी साझा विकासका साथ अघि बढ्न आह्वान गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ । 

राष्ट्रपति सी उहाँका समकक्षी पनामाली राष्ट्रपति हुँवा कार्लोस भरेलाले पनामा सिटीमा अविस्थत चीन पनामा व्यापार मञ्चका सदस्यहरु तथा यी दुवै देशका उद्यमीहरुलाई सम्बोधन गर्दै सो धारणा राख्नुभएको हो । 

उहाँहरुले दुवै देशका व्यापारिक प्रतिनिधिहरुलाई भेटी आगामी दिनमा यी दुई देशबीचको व्यापारिक साझेदारिता के कसरी अघि बढाउन सकिन्छ भन्ने बारेमा गृहकार्य गर्न पनि आग्रह गर्नुभएको थियो । 

यसबाट दुबै देशको साझा बिकास हुने भन्दै राष्ट्रपति सिले सामुहिक रुपमा लाग्न आग्रह गर्नुभएको बताइएको छ । चिनीयाँ राष्ट्रपति औपचारिक भ्रमणको क्रममा आइतबार पनामा पुग्नुभएको थियो । उहाँले पानामा सिटीमा ती समुदायलाई सोमबार सम्बोधन गर्नुभएको हो । 

मध्य अमेरिकी देश पनामा र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएयता चिनियाँ राष्ट्रपतिको यो पहिलो भ्रमण हो । यी दुई देशबीच सन् २०१७ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

कूटनीतिक सम्बन्धको स्थापना भएयता यी दुई देशबीच विभिन्न क्षेत्रमा द्वीपक्षीय सहयोग र सहकारिताका विविध कार्यक्रमहरु पनि शुरु भएका उहाँले बताउनु भएको छ । 

चिनियाँ राष्ट्रपति सी अर्जेन्टिनामा भएको औद्योगिक राष्ट्रको बैठक जी–२० मा सहभागी भएर पनामा पुग्नुभएको हो । यस भ्रमणका क्रममा पनामाका उच्चस्तरीय नेताबीच द्वीपक्षीय वार्तालगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने अनुमान गरिएको छ । 

राष्ट्रपति सीले यसपटक चार ओटा देशको भ्रमण गर्नु हुनेछ । यसअघि उहाँले अर्जेन्टिना र स्पेनको भ्रमण गरिसक्नु भएको छ भने पनामापछि उहाँ पोर्चुगल जाने कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।  (रासस/सिन्ह्वा) 

प्रतिक्रिया दिनुहोस