दीपेन्द्रका अङ्गरक्षकलाई पहिल्यै दिइएको थियो खतराको सङ्केत

सफल खबर संवाददाता

शनिबार, १५ मंसिर २०७५, १० : १३
दीपेन्द्रका अङ्गरक्षकलाई पहिल्यै दिइएको थियो खतराको सङ्केत

नारायणहिटी राजदरबार हत्याकाण्डबारे पत्रकार देवप्रकाश त्रिपाठीको अनुसन्धानमा आधारित पुस्तक ‘महानिशा’को धारावाहिक अंश - १२)

राति अकस्मात् चिच्याउँदै रानी उठिन् । उनको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । बेडटेबुलमा राखिएको जारको पानी गिलासमा भर्दै लगातार दुई गिलास सासै नफेरी स्वात्तै पिइन् उनले । रातिको चिच्याहटबाट ब्युँझिएका राजा ‘के भयो तिमीलाई के भयो’ भन्दै थिए । दुई गिलास पानी तनातन पिएपछि अनुहारको पसिना पुछ्दै महारानीले भनिन्, ‘धेरै डरलाग्दो सपना देखेँ । हामी दुईको विवाह हुँदै रहेछ । देश–विदेशका पाहुनाको उपस्थितिले वैवाहिक समारोहलाई निकै गह्रुँगो बनाएको थियो । ‘उकाली–ओरालीहरूमा, भञ्ज्याङ अनि चौतारीहरूमा, जहाँजहाँ जान्छौ तिमी पाइला बनी म पछ्याइरहन्छु’ भन्ने गीतको धुन बजिरहेको थियो । मेरो सिउँदोमा सिन्दुर भर्ने बेला भयो, पण्डितजीले मन्त्रोच्चारणपछि शुभ लग्न भएको घोषणा गरे । सुनको बट्टाबाट सिन्दुर निकाली मेरो सिउँदो भर्न सरकार उठिबक्सेको मात्र थियो, लामा–लामा सिङ भएका दुई डरलाग्दा राँगाहरू मण्डपमै आए र हामी दुवैलाई सिङले हानेर लछारपछार गर्न थाले । म आत्तिएँ र ब्युँझिएँ । कस्तो भयानक दृश्य ? अहिले पनि मभित्र भयको कम्पन कायम छ !?’

‘सपना त सपना नै हो नि, सपनाका विषयलाई लिएर पनि विपनामा कोही डराउँछन् त ? लौ सुत, केही हुन्न’ वीरेन्द्रले सान्त्वना दिँदै भने । तर, ऐश्वर्य तत्काल सुत्न तयार भइनन् । मेहदी हसन र जगजित चित्राको आवाजले भरिएका गजलको सीडी प्ले गरिन् र भनिन्, ‘सरकार सुकला होइबक्स्योस, म एकछिनपछि सुत्छु ।’ ०५८ जेठ १८ गते बिहीबार रातिको सपना थियो यो । भोलिपल्ट कहिल्यै भुल्न नसकिने मिति बनेर जेठ १९ आइदियो ।

०००

त्यस दिन अर्थात् ०५८ जेठ १९ गते शुक्रबार । युवराज दीपेन्द्र विभिन्न सार्वजनिक कार्यक्रमहरूमा व्यस्त थिए । ललितपुरको सातदोबाटोस्थित खेलकुदशालामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि बनेर नारायणहिटी राजदरबार फर्कंदा करिब साढे चार बज्न लागेको थियो । ठट्टा मन पराउने युवराजाधिराजबाट आज त्यति ठट्टा–मजाक भएको थिएन र मुहार केही गम्भीरझैँ देखिन्थ्यो । अपराह्न पाँच बजे बडागुरुज्यू नयनराज पाण्डेका नातिको ब्रतबन्धमा सरिक हुने कार्यक्रम थियो । राजा वीरेन्द्र, रानी ऐश्वर्य र युवराज दीपेन्द्रसहित राजपरिवार डिल्लीबजारस्थित बडागुरुज्यू नयनराज पाण्डेको घरतर्फ प्रस्थान गऱ्यो ।

नयनराजको घरमा रमाइलो वातावरण थियो, राजपरिवारको उपस्थितिले त्यहाँको वातावरण रौनकमय बनाइरहेको थियो । कुरैकुरामा बडागुरुज्यूले युवराज दीपेन्द्रको विवाहको कुरा कोट्याए । दिवानीसँग विवाह गर्न नमिल्ने कुरा त्यहाँ पनि भयो । राजारानीले दिवानीसँग विवाह गर्न नसकिने स्पष्ट गरे । तर, दीपेन्द्रले त्यस कुरालाई सहन सकेनन् र झोक्किएर त्यसको प्रतिवाद गरे । जिज्ञासुहरूलाई शान्त पार्दै राजा वीरेन्द्रले भनेका थिए, ‘योग्य बुहारीको खोजी हुँदै छ, मिलेपछि विवाह भइहाल्छ ।’ राजा वीरेन्द्र छोराको विवाहको बारेमा कसैले जिज्ञासा प्रकट गर्दा यस्तै जवाफ दिने गर्थे र त्यस दिन पनि दिए । बुबाको यस्तो कुरा सुन्दा अरू दिन मुसुमुसु हाँसेर सुनिरहने दीपेन्द्रले सबैका अघिल्तिर प्रतिवाद गर्दै भने, ‘नो, इट् इज अलरेडी फाइनलाइज्ड, इट्स माई राइट ।’

दीपेन्द्रको कुरा सुनेर राजाको मुहारको रङ बदलियो । केही बोल्नै सकेनन् उनले ।

बडामहारानी ऐश्वर्यले अलिक ठूलो स्वरमा भनिन्, ‘ह्वेर आर यू एन्ड ह्वाट यू आर टकिङ नाउ ? इज् दिस वे टु टक ?’

‘आई नो एभ्रिथिङ’ भन्दै दीपेन्द्र उठे । दीपेन्द्रको प्रतिक्रियाले त्यहाँको वातावरण नै अहसज, अस्वाभाविक र तनावग्रस्त बनाइदियो । त्यही तनावका बीच राजपरिवार नारायणहिटी फर्कियो ।

नारायणहिटी पुगेपछि युवराजले शाहज्यादा पारसलाई फोन गरी हामी कतिबेला त्रिभुवन सदनमा भेला हुने हो भनी सोधे । पारसले जवाफमा भनेका थिए, ‘आठ बजे महाराजाधिराज सरकारको सवारी हुने भन्ने सुनेको छु, हामी सात बजेतिरै नै पुग्ने हो कि दादा ?’

‘ठीक छ हामी केही अघि नै भेटौँ’ भन्दै दीपेन्द्रले फोनको लाइन काटे र अर्को नम्बरमा फोन गरे, ‘आज म एउटा निर्णयमा पुगिसकेको छु, ‘आई विल डु समथिङ टुडे, मलाई तिम्रो साथ चाहिन्छ डार्लिङ ।’ फोनमा राणाकी छोरी दिवानी थिइन् । अंग्रेजीमा उनले भनिन्, ‘डन्ट डु एनी एक्सन प्लिज, सिचुएसन इज नट इन योर फेवर मैले भनेको मान ।’

‘अनि समर्थन मिल्छ भनेको होइन त तिमीले ?’ दीपेन्द्रले प्रश्न गरे ।

‘द्याट्स टु, तर आजै केही गर्नुपर्छ र ? तिमीमाथि नै खतरा पैदा हुने पो देख्दै छु म । आई एम लिविङ वन्ली फर यू, आई विल डु एनिथिङ फर यु, तर एगे्रसिव नहोऊ, सबै ठीक भइहाल्छ नि,’ दिवानीको जवाफ थियो ।

दीपेन्द्र झन् आक्रोशित भए, ‘नो–नो, आई सुड टेक सिरिएस एक्सन, म जिउँदै मर्न चाहन्न ।’

करिब दश मिनेटको संवादपछि आफूले आज केही न केही गर्ने जानकारी दिवानीलाई दिँदै दीपेन्द्रले फोन राखिदिए । दीपेन्द्रको यस्तो अभिव्यक्ति सुनेपछि दिवानीले तत्काल दीपेन्द्रका एक अङ्गरक्षकलाई फोन गरिन् र भनिन्, ‘आज युवराजाधिराज सरकारको मुड ठीक छैन, तिमीहरूले अलिक विचार गर्नु र सरकारलाई सम्हाल्नु, मेरो कुरालाई अलिक सिरिएस्ली लिनु है ।’

दिवानीले आफ्नो कर्तव्य पूरा गरिन्, तर अङ्गरक्षकहरूले दीपेन्द्रमाथि राम्ररी निगरानी राख्न भने सकेनन् या राखेनन् । मानौँ दिवानीले त्यत्तिकै भनेकी हुन् जसका कुरामाथि ध्यान दिइराख्नुपर्दैन ।


राणाकी छोरीसँग दीपेन्द्र निकै नजिक भइसकेका थिए । उनी दिवानीलाई छोड्न सक्ने अवस्थामा थिएनन् । दिवानी कान्छी हुन चाहँदिनथिन्, ‘म कान्छी बन्न चाहन्न’ दिवानीले अनेकौँपटक यो वाक्य दोहोऱ्याएकी थिइन् । उता दीपेन्द्रमाथि प्रियाको पनि त्यत्तिकै दबाब थियो । प्रियाको नाम आफ्नो पाखुरामा टाटु बनाएका दीपेन्द्रका निम्ति प्रियालाई परित्याग गर्नु अनेकौँ कारणले मुस्किल थियो । पहिलो कारण बाल्यकालदेखिकी प्रेमिका प्रियालाई परित्याग गर्ने उनको आफ्नै इच्छा थिएन, दोस्रो मुमा बडामहारानी रत्नलगायत राजपरिवारका अधिकांश सदस्यको जोड प्रियासँग नै विवाह गर्नुपर्छ भन्ने थियो, तेस्रो प्रियासँग विवाह गर्नका लागि चाँदीका सबै सामान तयार गरिसकिएको र हीराजडित टायरा (शिरमा लगाउने) पनि बनिसकेको थियो ।

त्यसैले कतिपटक प्रियाले ‘ठीकै छ त तिमी दिवानीलाई छोड्न सक्दैनौ भने मलाई छोड म अरूसँगै विवाह गर्छु’ भन्दा पनि दीपेन्द्र मानेका थिएनन् । प्रियाले त्यसो भन्दा उनको जवाफ हुन्थ्यो, ‘के तिमीलाई विधवा बन्ने मन छ ?’ जसले प्रिया विवाह गर्छ उसलाई म मारिदिन्छु भनेर दीपेन्द्र प्रायः आफ्ना खासखास मित्र र आफन्तहरूसँग भनिरहन्थे । प्रियासँगको सम्बन्ध छुटाउन बडामहारानी ऐश्वर्यले अनेकौँ प्रयत्न गरेकी थिइन् । दीपेन्द्रलाई मानसिक रूपमा उत्तेजित तुल्याएर प्रियाबाट टाढा पु¥याउन उनी ‘प्रिया हाम्रो घरमा रखबारीका निम्ति राखिएका नोकरजस्तै व्यक्तिकी छोरी हुन्, त्यस्तो बिनाहैसियतका मानिसको छोरीसँग तिमीले नजिकिन मिल्दैन ।’ ऐश्वर्यले मर्नुअघिसम्म आफ्नो अडान कायम राखेकी थिइन् भने दीपेन्द्र पनि आफ्नो निर्णयमा अडिग थिए ।

प्रिया नभए दिवानीसँग विवाह गर्छु भन्न थालेका थिए दीपेन्द्रले । तर, ऐश्वर्य यसमा पनि बाधक बनेर उभिइन् । आफूले मन पराएका प्रिया र दिवानी दुवैलाई आमाले अस्वीकार गरेपछि दीपेन्द्रको मन कुँडिएको थियो । र, क्रमशः आमाप्रति उनको असन्तुष्टि बढ्दो थियो । आफ्ना पिता राजा वीरेन्द्र आमा ऐश्वर्यको बसमा हुनु र आमाले आफ्नो भावना–चाहना नबुझ्नु दीपेन्द्रका निम्ति पीडाको कारण बनेको थियो । विवाहको कुरा प्रकट हुनेबित्तिकै प्रिया र दिवानीबाहेक अरूको नाम दीपेन्द्र सुन्न नचाहने, महारानी ऐश्वर्य ती दुवैलाई मन नपराउने र तेस्रो व्यक्ति सुझाउन पनि नसक्ने अवस्थामा थिइन् । यस विषयलाई लिएर भएका विवादका क्रममा महारानी ऐश्वर्यले ‘अब तेरो ‘श्री ५’ पदवी हटाइदिन्छु र भाइलाई युवराज बनाइदिन्छु’ सम्म भन्ने गर्थिन्, आमाले यसो भन्दा दीपेन्द्रको हृदय र आत्मसम्मानमा वाण लागेजस्तै हुन्थ्यो, उनी पीडा भुल्न कालोपदार्थको सहारा लिने गर्थे ।

दिवानीसँगको संवादपछि उनले प्रियासँग फोन संवाद गर्न चाहे, नम्बर डायल गरे, तर कनेक्सन नहुँदै काटे र पुनः दिवानीसँग संवाद गरे, ‘आज म केही गर्छु, तिमी मलाई साथ देऊ ।’ दिवानीले के भनिन् कुन्नि यसपटक लामो संवाद भएन । ‘म जिउँदै मर्न चाहन्न, आई मस्ट डु समथिङ’ भन्दै दीपेन्द्रले फोनलाइन काटे । दिवानीले पटक–पटक फोन गरिन् तर दीपेन्द्रले त्यसपछि उनको फोन पनि उठाएनन् । (क्रमशः)

यस अघि

अंश- १ : युवराजको जन्म र अनिष्टको आशंका

अंश- २ : ‘कुलनाशक’ देखिएपछि दीपेन्द्रको जन्मकुण्डली परिवर्तन

अंश- ३ : राजा महेन्द्रको ‘बहुदलीय पञ्चायती संविधान’, जो जारी हुन पाएन

अंश- ४ : राजा महेन्द्रलाई आफ्नो आदर्श मान्थे दीपेन्द्र

अंश - ५ : राति-राति दरबारमा यसकारण चल्थ्यो गोली

अंश-  : साँझमा शिवपुरी गुम्बा किन पुग्थे दीपेन्द्र ?

अंश- ७ : यस्ता जोखिम पनि उठाउँथे दीपेन्द्र

अंश– ८ : प्रियाबाट दिवानीमा यसरी सारियो दीपेन्द्रको ‘दिल’ !

अंश - ९ : होटल सोल्टीमा त्यो रातको ताण्डव

अंश - १० : राजा वीरेन्द्रले भने- ‘रियल्ली आई हेट हिम !’

अंश - ११ : यसकारण पैदा भयो वीरेन्द्रमा नीराजनलाई राजा बनाउने सोच

प्रतिक्रिया दिनुहोस