अन्तर्घात गर्नेलार्इ कारबाही गर्ने निष्कर्ष सहित सकियो नयाँ शक्तिको बैठक

विहीबार, २० पुस २०७४, १३ : ५०
अन्तर्घात गर्नेलार्इ कारबाही गर्ने निष्कर्ष सहित सकियो नयाँ शक्तिको बैठक

चितवन । नयाँ शक्ति पार्टी नेपालको प्रथम महाधिवेशन समितिको बैठक कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित ल्वाङ गाउँमा सम्पन्न भएको छ । तीन दिन चलेको बैठकमा पार्टी स्थापनादेखि हालसम्मको समीक्षा, हालै सम्पन्न निर्वाचनको समीक्षा र आगामी कार्ययोजनाको बारेमा छलफल भएको पार्टीका नेता गंगा श्रेष्ठले जानकारी दिए ।

बैठकमा सहभागीहरुले माओवादी केन्द्रसँग एकता गर्न संयोजक डा.भट्टराईलाई दबाब दिएको भन्ने कुरामा सत्यता नभएको पनि उनले बताए । उनले भने, ''नयाँ शक्ति कुनै पनि पार्टीसँग एकता गर्दैन । बाहिर आएको हल्ला गलत हो । बैठकमा सहभागीहरुले चुनावमा अपेक्षा गरेअनुसारको मतपरिणाम आएन भनेका मात्र हुन् ।''

बैठकमा १४८ सहभागीले प्रस्तुत गरेको प्रतिवेदनमाथि पनि छलफल भएको थियो । नेता श्रेष्ठका अनुसार प्रथम महाधिवेशन समिति बैठकले हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभामा मतदान गर्ने मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, सदस्यहरु अद्यावधिक गर्ने र पार्टीभित्र अन्तर्घात गर्नेलार्इ कारबाही गर्न छानबिन समिति गठन गरेको छ ।

बैठकले कृष्ण शर्माको नेतृत्वमा अन्तर्घात छानबिन समिति गठन गरेको हो । अन्तर्घात समितिमा शर्मासहित कमला हेमचुरी र नारायणराज पाण्डे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस