चितवनमा खिचरा महोत्सव पुस २८ देखि

विहीबार, २० पुस २०७४, १२ : ४१
चितवनमा खिचरा महोत्सव पुस २८ देखि

चितवन । यही पुस २८ गतेबाट पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सव हुने भएको छ । भूमिपुत्रका रुपमा परिचित थारु समुदायको सांस्कृतिक महत्व उजागर गर्ने उद्देश्यले खिचरा महोत्सव आयोजना गरिएको हो ।

खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको यो पाँचौँ संस्करण हो । करिब ६० प्रतिशत तयारी सकिएको महोत्सवका संयोजक नारायण महतोले जानकारी दिए । यस पटकको महोत्सवमा मुख्य आकर्षणका रुपमा पाँच फिटको घोँगी र चिचर रहने छ । साथै थारु संस्कृतिको हस्तकलाको प्रदर्शनीसमेत हुनेछ ।

माघ ८ गतेसम्म सञ्चालन हुने सो महोत्सव परिसरमा सजावटको काम भइरहेको छ । महोत्सवमा २०० कक्ष रहने छ । प्रचारप्रसार समितिका संयोजक कारी महतोका अनुसार महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि रु ५० तथा विद्यार्थीका लागि रु २५ शुल्क लाग्नेछ । वृद्धावृद्ध र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । टिकट बिक्रीबाट संकलित रकम थारु संग्रहालय र इ–लाइब्रेरी बनाउनका लागि खर्च गरिने आयोजकले जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस