काठमाडौंको तापक्रम एक डिग्री, जुम्लाको माइनस ६.५

विहीबार, २० पुस २०७४, १२ : ३५
काठमाडौंको तापक्रम एक डिग्री, जुम्लाको माइनस ६.५

काठमाडौँ । यहाँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।

काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो । काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार चिसो अझै बढ्ने छ । बुधबारको तुलनामा अझ झनै चिसो बढेको छ ।

“काठमाडौँ मात्र हैन देशैभर चिसो बढेको छ, हिजोभन्दा आज बढी चिसो छ, देशभर अझै चिसो बढ्नेछ”, उनले भनिन् । बिहानैदेखि घाम लागे पनि कठ्यांग्रिँदो जाडोले सर्वसाधारणलाई समस्या भएको छ ।

तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको र यसमा उत्तर पश्चिम वायुको केही प्रभाव पनि देखिएको मौसमविद् कँडेलको भनाइ छ ।

आज तराईका अधिकांश क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । अपराह्नदेखि क्रमिक सुधार आउने बताइएको छ । आज सबैभन्दा कम जुम्लामा माइनस ६ दशमलव ५ र सबैभन्दा बढी विराटनगरमा १० डिग्री सेल्सियस छ ।(रासस)

प्रतिक्रिया दिनुहोस