विवेक पुर्‍याएर प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई दलहरुको सुझाव

विहीबार, २० पुस २०७४, १२ : ००
विवेक पुर्‍याएर प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई  दलहरुको  सुझाव

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विवेक पुर्‍याएर मात्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न अन्य दलका नेताहरुले सुझाव दिएका छन् ।
प्रधानमन्त्री देउवाले बिहीबार विहान बालुवाटारमा राष्ट्रिय पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख, अस्थायी मुकाम र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा सर्वदलिय बैठक बोलाएका हुन ।   बैठकमा देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशहरुको अस्थायी मुकाम तोक्न प्रस्ताव गरेका थिए ।

बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले माओवादी नेताहरुले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषय सरकारको भएको भन्दै ति काम छिटो गर्न सुझाव दिएको बताए ।
त्यस्तै बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोक्न पनि सरकारलाई दलका नेताहरुले सुझाव दिएका थिए ।

बैठकपछि माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले चाडो प्रदेश प्रमुख र अस्थायी केन्द्रका बारेमा सरकारलाई निर्णयमा पुग्न सुझाव दिएको बताए ।  

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौला, माओवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु सहभागि थिए ।
केही दिनदेखि आराम गरिरहेका एमाले अध्यक्ष केपी ओली बैठकमा गएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस