स्थानीय तहमा युवा स्वरोजगार कार्यक्रम ल्याउनुपर्छ : कृष्णगोपाल श्रेष्ठ

विहीबार, २० पुस २०७४, ०९ : ४९
स्थानीय तहमा युवा स्वरोजगार कार्यक्रम ल्याउनुपर्छ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौँ । नेकपा एमाले का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा वाम गठबन्धनको एकतालाई जनताले अनुमोदन गरेको बताउँदै दुई पार्टीबीच एकताका लागि शीर्ष नेतृत्वले गृहकार्य शुरु गरिसकेको जानकारी दिएका छन् ।

राष्ट्रिय व्यापार संघले बुधबार यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित श्रेष्ठले अनौपचारिक रुपमा दुवै दलका नेताले उच्चस्तरीय छलफल गरिरहेको बताउँदै देशमा वाम शक्तिलाई विभाजन गर्न विभिन्न शक्तिले प्रयत्न गरेकोे भए पनि त्यो सफल हुँदैन भने ।

देशमा स्वदेशी उत्पादनको वृद्धि गरी आयातमुखी व्यवसायलाई निरुत्साहन गर्नुपर्नेमा जोड दिँदै उहाँले स्वदेशमा औद्योगिक व्यवसाय सञ्चालन गर्न सरकारले उद्यमीलाई सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित जीवनराम श्रेष्ठले मुलुकमा रोजगारी वृद्धि गर्न सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयमा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

उनले स्थानीय तहमा युवा स्वरोजगार, हस्तकला, उद्यमशीलता तथा घरेलु उद्यमका कार्यक्रम सञ्चालन गर्न सकेमा मात्र देशभित्र अर्थतन्त्र चलायमान हुने विचार व्यक्त गरे ।

राष्ट्रिय व्यापार संघका अध्यक्ष युवराज न्यौपानेले नयाँ सडक तथा त्यस वरपर क्षेत्रका व्यवसायीले सरकारलाई १० प्रतिशत राजस्व तथा महानगरपालिकालाई व्यवसाय कर र स्थानीय कर गरी १२ प्रतिशत कर बुझाउनपर्ने हुँदा आफूहरु दोहोरो मारमा परेको गुनासो गरे । (रासस)

प्रतिक्रिया दिनुहोस