नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन र अखिल(क्रान्तिकारी)बीच एकता

बुधबार, १९ पुस २०७४, १४ : २४
नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन  र अखिल(क्रान्तिकारी)बीच एकता

काठमाडौं । आज माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) र नेपालको सवैभन्दा जेठो विद्यार्थी संगठन नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनबीच एकता भएको छ । आज प्रज्ञाप्रतिष्ठानमा आयोजित एकता घोषणा कार्यक्रममार्फत ती दुई संगठनबीच एकता भएको हो ।  

कार्यक्रममा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र फेडरेसनका संयोजक दिपक जोशीले एकता विज्ञप्तिमा संयुक्त रुपमा हस्ताक्षर गरी एकता भएको  क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताएका छन् ।

वि.स.२००७ साल असार १७ गते स्थापित ने.रा.वि.फे.नेपालकै पहिलो र जेठो विद्यार्थी संगठन मानिन्छ । नेराविफे कै झण्डामुनी वि.स.२००८ कार्तिक २० गते दिल्ली सम्झौता विरोधी आन्दोलनका क्रममा चिनियाकाजी श्रेष्ठको हत्या भएको एकता विज्ञप्तिमा जनाइएको छ ।

यो एकताले अखिल(क्रान्तिकारी) को २१ औं राष्ट्रिय सम्मेलनवाट पारित समाजवादी शिक्षा प्राप्तिको कार्यदिशालाई अझ नयाँ उचाइमा पुर्याउने विश्वास लिएका छौं, जारी एकता विज्ञप्तिमा भनिएको छ ।

विप्लव, नयाँ शक्ति र वैद्यवाट पनि विद्रोह
यसैगरी सोही एकता कार्यक्रममा विप्लव निकटको अखिल(क्रान्तिकारी)का सचिव रामवहादुर वि.क. र कोषाध्यक्ष आस्था घिमिरे सहितको समूह अखिल(क्रान्तिकारी)मा समाहित भएको छ ।

त्यसैगरी नयाँ शक्ति विद्यार्थी युनियनका संगठन विभाग प्रमुख लक्ष्मीप्रसाद जोशी सहितको समूह अखिल (क्रान्तिकारी)मा समाहित भएको छ । सोही कार्यक्रममा वैद्य निकट अखिल(क्रान्तिकारी) का ६ नं.प्रदेशका संयोजक जगदीश शाही सहितको टोली पनि क्रान्तिकारीमा समाहित भएको थियोे ।

एकता घोषणा कार्यक्रममा नेकपा(माओवादी केन्द्र) का सचिवालय सदस्य एवं क्रान्तिकारीका पुर्व अध्यक्ष  लेखनाथ न्यौपाने,पिविएमद्वय रमेश मल्ल र पदमराज जोशीको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस