प्रधानमन्त्री ओलीको सचिवालयमा पूर्वमाओवादी र माधव नेपाल पक्षका नेतालाई कडाइ

सफल खबर संवाददाता

मंगलबार, २७ कार्तिक २०७५, १७ : १७
प्रधानमन्त्री ओलीको सचिवालयमा पूर्वमाओवादी र माधव नेपाल पक्षका नेतालाई कडाइ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा पूर्वमाओवादी वा माधव नेपाल पक्षका कार्यकर्ता नेतालाई कडाइ गरिएको छ । प्रधानमन्त्री ओलीले विगतका अन्य प्रधानमन्त्री र आफ्नै विगतको परम्परासमेत तोडेर प्रधानमन्त्रीको सचिवालयको आकार कटौती गर्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले पूर्वमाओवादीका त परै राखौं, पूर्वएमालेभित्रै पनि आफ्नो परम्परागत गुटबाहेकका नेतालाई सचिवालयमा ठाउँ दिएका छैनन ।

नेकपा स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सचिवालयमा पूर्वमाओवादीतर्फका केही नेतालाई पनि नियुक्ति दिन आग्रह गरेका थिए । पार्टी एकताको सन्देश र अपनत्व महशुस गराउन पनि तत्कालिन माओवादीतर्फका कम्तीमा एक जनालाई सचिवालयमा राख्न सुझाव दिएको स्रोतको दाबी छ । प्रचण्डले धनकुटाका पूर्वसभासद तथा नेकपा केन्द्रीय सदस्य हेमराज भण्डारीलाई प्रधानमन्त्रीको सचिवालयमा राख्न केही महिनाअघि नै सिफारिस गरेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले गुटबाहेकका नेतालाई सचिवालयमा ठाउँ दिएका छैनन ।

सायद त्यसकै प्रतिक्रिया स्वरुप हुनुपर्छ, नेकपाका केही नेताले फेसबुक र ट्वीटरबाट व्यंग्य गरिरहेका छन् । नेकपा केन्द्रीय सदस्य तथा माधव नेपाल प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार विष्णु रिजालले ‘दाने दाने पे लिखा है खानेवालाका नाम’ भनेर व्यंग्य गरेका छन् ।

नेकपाका अर्का केन्द्रीय सदस्य डा. विजय पौडेल लेख्छन्– नेकपामा केही मानिसहरु आजीवन खाने लाइसेन्स लिएर आएका रहेछन् । हरेक सरकारका पालामा यिनले खाइरहन्छन् । नेपाली कांग्रेसमा पनि त्यस्तै निरन्तर खानेहरुको झुण्ड छ । हरेक गुटबाट लाभ लिन सक्ने महानुभावहरुले नेताहरुलाई रिझाउने के जादू जानेका रहेछन ?                        

प्रतिक्रिया दिनुहोस