कमल थापाको ‘तातै खाउँ जल्दै मरौँ’ प्रवृत्तिका कारण एकता प्रक्रिया रोकियो : पशुपतिशमशेर राणा

सफल खबर संवाददाता

मंगलबार, २७ कार्तिक २०७५, १४ : २०
कमल थापाको ‘तातै खाउँ जल्दै मरौँ’ प्रवृत्तिका कारण एकता प्रक्रिया रोकियो :  पशुपतिशमशेर राणा

काठमाडौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाएका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा राणाले परिपक्व तरिकाले एकता गर्नका लागि ४–५ दिनको समय माग्दा थापाले नमानेको दावी गरे ।

एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनी र आफूले केही समय गम्भीर छलफल गरेर एकता घोषणा गरौँ भन्दा थापा नमानेको राणाले बताए ।
राणाले कमल थापाको ‘तातै खाउँ जल्दै मरौँ’ प्रवृत्तिका कारण एकता प्रक्रिया तत्कालका लागि रोकिएको बताए ।

गाईलाई चुनाव चिह्न बनाउने थापाको प्रस्ताव आफूलाई अस्वीकार्य भएको राणाको भनाइ छ । अध्यक्ष राणाले हिन्दु राष्ट्र र गणतन्त्रको विषयमा भने सहमति भइसकेको बताए । उनले भने, ‘हिन्दु राष्ट्र बनाउने विषयमा तीनै राप्रपाबीच कुरा मिलिसकेको छ ।’
तीनवटै राप्रपा एकताका लागि आफू अझै पनि तयार रहेको भन्दै राणाले हतारमा एकता गरेर प्रभावकारी नहुने बताए । 

प्रतिक्रिया दिनुहोस