म्याग्दी। ट्रयाक खुलेको १४ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ को पीपलबोट–पाखु सडक स्तरोन्नति गर्न थालिएको छ ।
मङ्गला गाउँपालिकाले पोक–पीपलबोट–पाखु–घारा–सिरकुम–टिकावाङ सडक अन्तर्गत यस वर्ष पीपलबोट–पोक खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो । मङ्गला–५ को वडा कार्यालय रहेको पोक जोड्ने सडक विक्रम संवत् २०६८ मा मार्ग खुलेको थियो ।
गाउँपालिकाले चालू आर्थिक वर्षमा रू तीन करोड २७ लाख बजेट विनियोजन गरेको यो सडक स्तरोन्नतिका लागि रू दुई करोड १७ लाखमा निर्माण कम्पनीले ठेक्का लिएको छ ।ठेक्का मार्फत पीपलबोट र पाखु खण्डमा सडक फराकिलो पार्ने, घुम्ती तथा ग्रेड सुधार, नाली, पर्खाल निर्माण र ढलान गर्न लागिएको मङ्गला– ५ का वडा अध्यक्ष भूपेन्द्र खत्रीले बताए ।
उनका अनुसार नौ सय ४५ घनमिटर पलम (पक्की) पर्खाल, एक हजार पाँच सय ९६ घनमिटर ग्यावियन पर्खाल, दुई सय मिटर नाली र दुई सय २० मिटर सडक ढलान गर्ने काम ७० प्रतिशत सकिएको छ । आगामी असार महिनाभित्र योजना सम्पन्न गर्ने लक्ष्य छ ।
सडक स्तरोन्नति भएपछि साबिक अर्मन गाविसका बासिन्दालाई आवत जावत, वडा कार्यालय जान आउनका साथै कृषि उपज निकासी, निर्माण सामग्री र दैनिक उपभोग्य बस्ती आयातमा सहज हुने अपेक्षा गरिएको छ ।
हाल कच्चि, साँघुरो र ग्रेड नमिलेको सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यसअघि गत वर्ष हाडेभिर–पीपलबोट खण्डमा सडक स्तरोन्नति गरिएको थियो । यो मङ्गला गाउँपालिकाको गौरवको आयोजना हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, ११ : ४१
लेखकबाट थप