माओवादीको जागरण अभियानमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०८२, १२ : ३९
माओवादीको जागरण अभियानमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट शुरू भएको छ । झापाबाट शुरू भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो ।

अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैँडाकोट आइपुगेको थियो । नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान शुरू गरिएको अध्यक्ष प्रचण्डले बताए । गैँडाकोटबाट अभियान पुनः शुरू गर्न पाउँदा खुसी लागेको उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डसहितको टोलीले आज बिहान गैँडाकोट–४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको शुरूआत गरेको छ ।

null

उक्त टोलीले यहाँ करिब पाँच किलोमिटर ‘मर्निङ वाक’  गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । अभियानका क्रममा अध्यक्ष प्रचण्डले गैँडाकोट–८ स्थित लखन चोकमा रहेको नेपालका प्रथम शहीद लखन थापाको सालिकमा माल्यार्पण गरेका थिए ।

अभियानका क्रममा अध्यक्ष प्रचण्डले नगरपालिकाभित्र रहेका पार्टी निकट सहिद परिवार, शुभेच्छुकलगायतका व्यक्तिहरूसँग समेत भेटघाट र कुराकानी गरे । पूर्वउपराष्ट्रपति एवं माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन पनि अभियानमा सहभागी छन् ।

अध्यक्ष प्रचण्डले अभियानअन्तर्गत आज दिउँसो देवचुली नगरपालिकाको रजहर, जिल्ला सदरमुकाम कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम छ ।अभियानका क्रममा आज नवलपुर केन्द्रित कार्यक्रम रहने नगर अध्यक्ष अधिकारीले जानकारी दिए । जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस