तराई–मधेशमा ‘सतुवाइन’ पर्व मनाइँदै

सफल खबर संवाददाता

सोमबार, ०१ बैशाख २०८२, ०९ : ३७
तराई–मधेशमा ‘सतुवाइन’ पर्व मनाइँदै

जलेश्वर । तराई–मधेशका महोत्तरीसहित धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरी लगायतका जिल्लामा आज सतुवाइन पर्व मनाइँदै छ ।

नयाँ वर्षका दिन मधेशमा सतुवाइन पर्व मनाइने गरेको जलेश्‍वर नगरपालिका– ५ का संस्कृतिविद् ध्रुव रायले बताए । चना, मकै, जौ, भटमास लगायतका वस्तुलाई भुटेर त्यसलाई पुनः पिँधेर पिठो तयार गरिन्छ । सोही पिठोको सातु खाएर आजका दिन मिथिलाञ्चलमा सतुवाइन पर्व मनाइने चलन रहेको जलेश्वर- ८ का पण्डित बद्रीनारायण झाले जानकारी दिए ।

जलेश्वर नगरपालिका– १ स्थित जलेश्वरनाथ महादेव मन्दिरका पूजारी उपेन्द्र पाठक सातुले शीतलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुर सम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ नयाँ वर्षको पहिलो दिन मिथिलाञ्चलमा सातु खाएर सबैले सतुवाइन पर्व मनाउने चलन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस