जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो ठड्याइयो

सफल खबर संवाददाता

आइतबार, ३१ चैत्र २०८१, १२ : २४
जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो ठड्याइयो

भक्तपुर। भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको अवसरमा आज बिहान ११ बजे भक्तपुरको पोटरीस्क्वायरस्थित कुमाले टोलमा हात नभएको लिङ्गो उठाइएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीय भक्तपुरको कुमाले टोलमा बिहानै उठाइने हात नभएको लिङ्गो आज विधिपूर्वक पूजा गरी उठाइएको हो ।​​ 

बिस्केट जात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने गरिन्छ । कुमाले टोलमा बिहान लिङ्गो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई साँझ भेलुखेलमा हातसहितको नाग–नागिनीको प्रतीक रहेको तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्र ध्वजासहितको ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ ।

यसलाई विश्वप्रसिद्ध लिङ्गो जात्रा भन्ने गरिन्छ । यो लिङ्गो भने वैशाख १ गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ । यता मध्यपुरथिमि– ८ बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि पनि आज बिहान लिङ्गो उठाइएको छ । मध्यपुरथिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको उपस्थितिमा जनप्रतिनिधिहरू समेतको सहभागितामा स्थानीयले महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएका हुन् ।​​

तान्त्रिकविधि पूरा गरी बिहान स्थानीयले लिङ्गो उठाएपछि थिमि क्षेत्रको जात्रा एवं पर्वको विधिवतरूपमा शुरू हुने, मठमन्दिरमा मेला लाग्ने र भोज शुरू हुने परम्परा रहेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए ।

'महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको छ । यस मन्दिर अगाडि लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि शुरू भएको मानिन्छ,' उनले भने ।

यहाँ आज नै कुमारीको रथ लहीटोलमा पुर्‍याइन्छ भने राति करिब ९ बजे निलबारही जङ्गलबाट ल्याएको दाउरा बालेर पूजा गरेपछि २८ वर्षीय सुजन वांग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छेड्नेछन् ।

आज व्रत शुरू भएपछि जिब्रो छेड्ने व्यक्तिले केही खान नहुने, महिलासँग बोल्न तथा छुन नहुने, कुकुर, कुखुरा, बिरालोलगायतका पशुपक्षीलाई छुन नहुने चलन छ ।​

मध्यपुरथिमीमा बिस्केट जात्राको अवसरमा सिन्दुरजात्रा विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा, सिद्धिकाली जात्रालगायतका जात्रा एवं पर्व स्थानीयले भव्यरूपमा मनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस