नारायणहिटी राजदरबार हत्याकाण्डबारे पत्रकार देवप्रकाश त्रिपाठीको अनुसन्धानमा आधारित पुस्तक ‘महानिशा’को धारावाहिक अंश–९)
पहिलो प्रयासमै यसरी सफलता प्राप्त गरेपछि तारा प्रसन्न भए । भोलिपल्ट बिहान राणाजीलाई टेलिफोन गरी उनले भनेका थिए, ‘हिजो निकै राम्रो भयो हजुर, छोरी पनि खुसी भइन्, हेर्दै गइबक्स्योस् हजुर म कसरी पासा पल्टाउँछु ।’
‘ठीक छ जर्साब, ठीक छ, हजुरको क्षमता प्रतिभा मलाई थाहा छँदै छ नि,’ राणाजीले तारालाई फुलाउँदै भनेका थिए ।
ताराले राणाजीसँग संवाद टुङ्ग्याएर रिसिभर के राखेका थिए, तत्काल घन्टी बज्यो । उनले फोन उठाए, उताबाट ‘हेलो’ आवाज आउनेबित्तिकै तारा बोले, ‘दर्शन सरकार, सेवक बोल्दै छु ।’ फोनमा दीपेन्द्र थिए ।
उनले सायद तारालाई दिवानीसँग एक्लै भेट्ने व्यवस्था मिलाइदेऊ भनेका थिए क्यारे ! ताराले ‘हवस् सरकार म बन्दोबस्त मिलाउँछु, जतिसक्दो चाँडो मिलाउँछु सरकार, मिलाएर म मौसुफमा फोन टक्य्राउँछु’ भने ।
त्यसपछिका दिनमा दीपेन्द्र ताराका निकै नजिक बने, उनीहरूबीच निरन्तर सम्पर्क भइरहन्थ्यो । सुरुका केही महिना दीपेन्द्रले दिवानीसँग ताराकै घरमा मात्र भेट गर्ने गरेका थिए । यसरी दिवानी र दीपेन्द्रको सम्बन्धलाई कसिलो बनाउने सफलता प्राप्त गरेपछि ताराले भविष्यको सर्वशक्तिमान मानिसको रूपमा आफूलाई ठान्न थालेका थिए ।
यसैक्रममा दीपेन्द्रको दिवानीसँगको प्रेम गहिरिन थालेपछि भारतको ग्वालियरबाट एक तान्त्रिकलाई बोलाइएको थियो र उनलाई होटल याक एन्ड यतीमा राखिएको थियो । ती तान्त्रिकसँग युवराज दीपेन्द्रको पनि भेट गराइयो । तान्त्रिकले तन्त्रमन्त्र गरी बाजको नङ्ग्रालाई बुटी बनाएर दिएका थिए, जुन दीपेन्द्र सधैँ आफ्नो घाँटीमा लगाउने गर्दथे । उक्त बुटी जीवनरक्षा र प्रगतिका लागि भनेर दिइएको भए पनि दीपेन्द्रका निकवर्तीहरूले दिवानीप्रति आकर्षित गराउनका लागि हो कि भन्ने आशङ्का गरेका थिए ।
‘दिवानी, आज सञ्जयको घरमा बिहान एघार बजे आऊ है,’ दीपेन्द्रले टेलिफोनमा भने ।
उताबाट जवाफ आयो, ‘हवस, मलाई तारा जर्सावको घरमा भन्दा मारवाडी भए पनि सञ्जयकै घरमा कम्फर्टेबल महसुस हुन्छ । जर्साव हाम्रो शुभचिन्तक त अवश्य होइबक्सन्छ, तर उहाँ अत्यन्त महत्वाकाङ्क्षी मानिसजस्तो लाग्छ मलाई । मौसुफ गद्दीनशील होइबक्सेपछि केही प्राप्त गर्ने आशा जर्सावले राखेको हुनुपर्छ र आफ्ना इच्छा पूरा नभएमा हामीलाई नै ‘ब्ल्याकमेलिङ’ गर्ने पो हुन् कि जस्तो लाग्छ मलाई । त्यसैले अस्ति उहाँको घरमा भेट गर्दा कतै क्यामेरा फिट गरेको छ कि भनेर मैले सबैतिर नियाली हेरेकी थिएँ ।’
‘हा..हा..हा.. त्यस्तो हिम्मत कसरी गर्न सक्लान् र ? तैपनि सधैँ एउटै घरमा भेटिरहनु धेरै कारणले उचित होइन । त्यसैले मैले सञ्जयको घरमा भेटौँ भनेको’ दीपेन्द्रले हाँस्दै भने ।
‘हवस्, आई विल बी देयर अन टाइम बाई’ भन्दै दिवानीले फोन राखिदिइन् ।
‘बाई, सी यू’ दीपेन्द्रले रिसिभर राखिदिए ।
बिहान एघार बजे दिवानीलाई बोलाएको भए पनि दीपेन्द्र दश बजे नै सञ्जयको घरमा पुगे ।
सञ्जयले आफ्नो घरमा दीपेन्द्रको लागि एउटा विशेष शयनकक्षको व्यवस्था गरिदिएका थिए । उक्त कोठामा उनले आफ्नै परिवारका सदस्यहरूलाई पनि सितिमिति प्रवेश गर्न दिँदैनथे ।
०००
होटेल सोल्टीमा भव्य भोज चल्दै थियो ।
भोजमा युवराज दीपेन्द्र, उनकी प्रेमिका प्रिया, शाही नातेदार तथा परिवारका सदस्य, तिनका मित्रजन तथा केही चुनिएका सम्भ्रान्त परिवारसम्बद्ध व्यक्तिहरू सामेल थिए । वि.सं. २०५५ सालको हिउँदमा आयोजित सम्भवतः सबभन्दा रमणीय भोज त्यही थियो । युवराज दीपेन्द्र आफ्ना केही साथीहरूलाई लिएर एउटा टेबुलमा मदिराको चुस्कीसहित गफमा मस्त थिए । पृष्ठभूमिमा नेपाली, हिन्दी र अंग्रेजी गीतहरू बजिरहेको थियो ।
छिप्पिँदो रातसँगै चढ्दो नसाले गीत–सङ्गीतको मातको साथ खोजेको थियो । केही युवाहरू स्टेजको अघिल्तिर पुगेर नाच्न थालिसकेका थिए । नाच्नेहरूलाई दीपेन्द्र पनि हौस्याउँदै थिए । रातको ११ बज्नै लाग्दा प्रिया पनि स्टेजको अघिल्तिर पुगिन् र नाच्न थालिन् । उनलाई नृत्यमा एक कुनै कुलीन केटाले साथ दिँदै थियो ।
बाघले सिकार झम्टिएझैँ दीपेन्द स्टेजको अगाडि पुगे र प्रियाको पाखुरा र कपालमा एकसाथ पक्रिए ।
नाचिरहेका सबै स्तब्ध भए । बाजा बजिरहेको थियो, तर नृत्य बन्द भयो । दीपेन्द्रले एकप्रकारले घिसार्दै प्रियालाई होटेलबाट बाहिर पुऱ्याए । आफ्नो गाडीको डिक्की खोले । डिक्कीमा प्रियालाई राखे र बन्द गरी त्यहाँबाट निस्किए । प्रिया चिच्याउँदै थिइन्, तर सुन्ने कसले ? दीपेन्द्रले प्रियालाई डिक्कीमा राखेर लगेको सबैले हेरिरहे, तर प्रतिवाद गर्न कसैले पनि सकेनन् ।
त्यसताक दीपेन्द्रको दिवानीसँगको प्रेम उत्कर्षतर्फ बढ्दै थियो र प्रियालाई पनि यस कुराको जानकारी थियो । दीपेन्द्र–दिवानीबीचको सम्बन्धको गाँठो कसिँदै जाँदा प्रियाले सम्भवतः आफू स्वतन्त्र हुँदै गएको महसुस गर्न थालेकी थिइन् । दीपेन्द्रसँग विवाह गर्ने र भविष्यमा महारानी बन्ने सपनाबाट सायद प्रिया मुक्त भएकी थिइन् । त्यसैले सोल्टीको भोजमा दिल खोलेर पिउन र नाच्न कसैको अनुमति लिइरहनुपर्ने उनले ठानिनन् ।
तर, दीपेन्द्र प्रियाबाट मुक्त भइसकेका थिएनन् र त्यसरी उनले सोचेका पनि थिएनन् । दुवै प्रमुख प्रेमिकाहरुलाई पत्नी बनाउने र एउटीलाई बडामहारानीको दर्जा दिने चाहना उनको थियो । दीपेन्द्रले आफ्नो यस्तो इच्छा दिवानी र प्रिया दुवैसमक्ष तर अलगअलग रूपमा प्रकट गरेका थिए । दिवानीले आफूलाई बडामहारानीको दर्जा दिने भए बाँकी जेसुकै गर भनी एकप्रकारले स्वीकृति दिइसकेकी थिइन् । तर, प्रियाको कुरा बेग्लै थियो । दीपेन्द्रको त्यस्तो प्रस्तावमा प्रियाले पटकपटक भनेकी थिइन्, ‘ठीक छ, उसलाई बडामहारानी बनाउनु छ भने बनाउनु, म अवरोध पैदा गर्दिनँ । तर, म कान्छी भएर बस्न राजी छैन, बरु अरू कसैसँग विवाह गरेर म आफ्नो जिन्दगी बिताउन चाहन्छु ।’
प्रियाको यस्तो कुरा सुन्दा दीपेन्द्रलाई सय भोल्टको करेन्ट लागेसरह हुन्थ्यो र भन्थे, ‘प्रिया तिमीलाई विधवा बन्नु छ भने मात्र अरू कसैसँग विवाह गर्नु । जसले तिमीलाई विवाह गर्न चाहन्छ त्यसले आफ्नो ज्यान गुमाउँछ ।’
दीपेन्द्रका यस्ता अभिव्यक्तिका कारण प्रिया निकै अप्ठ्यारोमा परेकी थिइन् । तर, क्रमशः दीपेन्द्रसँग टाढिँदै जाने र आफ्नो स्वतन्त्र जिन्दगीको ढोका खोल्ने सोचमा उनी थिइन् । त्यसैले सोल्टी होटेलमा प्रियाले जानाजान दीपेन्द्रको इच्छाविपरीतको व्यवहार प्रस्तुत गरेकी थिइन् । दीपेन्द्रले सहन सकेनन्, कपालमा समातेर लछार्दै बाहिरसम्म ल्याए र डिक्कीमा राखेर होटेलपरिसरबाट उनी निस्किए । त्यस्तो असामान्य अवस्थामा पनि दीपेन्द्रको ओठबाट उनको प्रिय गीतका शब्दहरू गुनगुनिएका थिए, ‘परेँ म दोधारैमा, जेठी छोडौँ घरबार जान्छ, कान्छी छोडौँ माया लाग्छ ।’ (क्रमशः)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ कार्तिक २०७५, १० : २०
लेखकबाट थप