विदेशबाट फर्काएका २१ वटा मूर्ति मन्त्री पाण्डेद्वारा हस्तान्तरण

सफल खबर संवाददाता

आइतबार, १७ चैत्र २०८१, १४ : ०३
विदेशबाट फर्काएका २१ वटा मूर्ति मन्त्री पाण्डेद्वारा हस्तान्तरण

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले नेपालबाट मूर्ति चोरी भएर संसारको जुनसुकै कुनामा पुगेको भए पनि फिर्ता ल्याएरै छोड्ने बताएका छन् । 

विगतमा चोरी भएर अमेरिका पुगेका थप २१ वटा पुरातात्विक महत्त्वका मूर्ति नेपाल फर्काएर आइतबार पाटन संग्राहलय र राष्ट्रिय संग्राहलयलाई हस्तान्तर गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

‘हाम्रा सम्पदाहरू संसारको कुनै पनि कुनामा पुगोस्, नेपालीहरूले हाम्रा आफ्ना सम्पदाहरू चिन्छन् । त्यसको महत्त्व जान्दछन् र त्यसलाई फर्काएर ल्याउने कुरामा संसारभरी फैलिएका नेपालीहरूले योग्यता राख्दछन्’, मन्त्री पाण्डेले भने, ‘नेपालको सम्बन्ध विश्वव्यापी भएको छ । चोरीका मूर्तिहरू नेपाल फर्काउँछौं भन्ने सकारात्मक सन्देश दिन सफल भएका छौं ।

उनले विगतमा नेपालका महत्त्वपूर्ण पुरातात्विक मूर्ति कसरी विदेश पुगे भन्दै प्रश्न गरे । उनले जुन ठाउँबाट चोरी भएका हुन् सोही ठाउँमा उक्त मूर्ति प्रतिस्थापन गरिने विश्वास व्यक्त गरे ।

 

संस्कृति,पर्यटन तथा नागरिक उड्डन मन्त्रालय मातहतमा रहेको पुरातत्व विभागले हालसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, तिब्बत, भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्विक महत्त्वका मूर्तिहरू विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यक्ति तथा संघसंस्थाको प्रयासबाट फिर्ता भइसकेको जनाएको छ ।  

हालसम्म संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक वस्तुहरूको संख्या १०४  पुगेको छ ।

प्रतिक्रिया दिनुहोस