काठमाडौँ । सामाजिक सुरक्षा कोष (एसएसएफ) बाट स्वास्थ्य क्षेत्रमा १ अर्ब ८३ करोड रुपैयाँ भुक्तानी भएको छ । पाँच वर्षमा ९ हजार ७ सय ५ सय ३४ जनाले ४ लाख ८३ हजार ५२५ पटक दाबी भुक्तानी गर्दा सो रकम रकम भुक्तानी भएको हो । एसएसएफले औषधि उपचारमा सहयोग गर्दै आएको छ । २०७५ मङ्सिर ११ गते सरकारले श्रमिकका लागि स्वास्थ्य उपचार व्यवस्थासहित सामाजिक सुरक्षा योजनाको सुरुवात भएको थियो ।
एसएसएफले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्र्तगत स्वास्थ्य सेवा पाउँछन् । यसअन्र्तगत चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियावापत शुल्क, रोगको परीक्षण तथा उपचारवापत खर्च, औषधिको बिलबमोजिम खर्च, योगदानकर्ता वा योगदानकर्ताको श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्मको शिशुको उपचारवापत खर्च, अस्पतालमा भर्ना नभएको तर उपचारका लागि अस्पतालमा आवतजावत गर्न सक्ने अवस्था नभई घरैमा बसी उपचार गराएकोमा चिकित्सक वा स्वास्थ्यकर्मीले बिरामीको घरमै गई प्रदान गरेको परामर्श सेवावापतको शुल्कको रकम भुक्तानी गर्ने एसएसएफले जनाएको छ ।
पाँचौँ वर्षसम्म आइपुग्दा यस्तो सुविधा लिने संख्या ९ हजार ७ सय ५३४ छ । यो तथ्यांक यही चैत्र १४ गतेसम्मको रहेको एसएसएफका कार्यकारी निर्देशक कविराज अधिकारी बताउँछन् । यिनै सुविधा लिनेमध्ये एक हुन् । परिक्षित थापा मगर । उनी एसएसएफकै कर्मचारी हुन् । उनले आफ्नो श्रीमतीको उपचारका लागि एक लाख रुपैयाँ एसएसएफबाट योगदानमा आधारित उपचार खर्च प्राप्त गरेका हुन् । तर आफू कर्मचारी हुँदा पनि उपचार खर्च प्राप्त गर्न कठिनाइ भएको उनले बताए । ‘मैले मेरो श्रीमतीको उपचारका लागि एक लाख रुपैयाँ लिएको छु’, उनले भने, ‘क्यान्सरबाट पीडित मेरो श्रीमतीको उपचार गर्दै गर्दा मृत्यु भयो, त्यसपछि क्लेम गर्दा पाउँदैन भन्ने थियो, तर पछि मैले खोजी गर्दा पाउने रहेछ इम्प्लोई डिपेन्टेनमा क्लिेम गरेर एक लाख रुपैयाँ पाउने रहेछ ।
विराटनगर सुरेश महतोले पनि एसएसएफ मार्फत योगदानमा आधारित स्वास्थ्य सुविधा लिएका छन् । उनी विगत २० वर्षदेखि हुलास स्टीलमा काम गर्दै आएका छन् । २०७७ साल कार्तिक १७ गते मेसिनमा उनको हात परेर दायाँ हातको तीन वटा औँला छिनियो । उनको हातको उपचारमा २ लाख रुपैयाँ खर्च भयो । यो रकममा ६० प्रतिशत (१ लाख २० हजार) एसएसएफले बेहोरेको थियो भने ४० प्रतिशत (८० हजार) आफैले उपचारमा खर्च गरेको सुनाए । ‘कोषमा आवद्ध भएको पाँच वर्ष भएको होला, यसमा अवाद्ध भएको करिब साढे एक वर्षमा दुर्घटनामा परँे,’ उनले भने, ‘औला काटेको हुनले मासिक रुपमा १ हजार ४९० रुपैयाँ पाइरहेको छु । उपचारमा पनि सहयोग भएको थियो ।
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना मार्फत एसएसएफले २ अर्ब १३ करोड ६५ लाख ३२ हजार ८४० रुपैयाँ संकलन गरेको छ । यो रकममध्ये औपचारीक क्षेत्रबाट २ अर्ब १३ करोड ३१ लाख ०५ हजार ५७७ रुपैयाँ संकलन भएको एसएसएफका कार्यकारी निर्देशक कविराज अधिकारी बताउँछन् । अनौपचारी क्षेत्रबाट ३२ लाख ६३ हजार ३५० रुपैयाँ संकलन गरिएको छ भने, स्वरोजगार क्षेत्रबाट १ लाख ६३ हजार ९१३ रुपैयाँ संकलन भएको उनको भनाई छ ।
निर्देशक अधिकारीका अनुसार एसएसएफको औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा ९ हजार ७ सय ५३४ जनाले भुक्तानी दाबी गरेका छन् । यीनिहरुले ४ लाख ८३ हजार ५२५ पटक दाबी भुक्तानी गरेका छन् । यहाँबाट १ अर्ब ८३ करोड ०७ लाख ७७ हजार १५६ रुपैयाँ रकम भुक्तानी भएको छ ।
यहि रकम मध्ये परिक्षित थापा मगर र सुरेश महतोले क्रमशः एक लाख र १ लाख २० हजार रुपैयाँ उपचार खर्च प्राप्त गरेका छन् । २०७७ सालमा सुरेश महतोले उपचारका लागि २ लाख खर्च गरेका थिए । यसमा ६० प्रतिशत अर्थात् १ लाख २० हजार एसएसएफले उपचार खर्च बेहोरेको थियो भने ८० हजार खर्च अर्थात् ४० प्रतिशत महतो आफैले खर्च बेहोरेका थिए । एसएसएफबाट सुविधा पाउनुपर्ने मान्छेले पनि सही सूचना नहुँदा सेवा लिन नसकेको परिक्षित थापा मगरको अनुभव छ ।
यस्तै, कम्पनीले नै आफ्नो उपचारका लागि कागजात मिलाइदिएकोमा झन्झटविनै आफूले उपचार गर्न पाएको सुरेश महतोले बताएका छन् । एसएसएफले स्वास्थ्य सेवा दिनका लागि देशभरका १ सय १० वटा अस्पतालसँग सम्झौता गरेको छ । यहाँबाट ओपीडी सेवादेखि जटिल स्वास्थ्य उपचार गर्न पाइने कार्यकारी निर्देशक कविराज अधिकारी बताउँछन् । तर कुनै दुर्घटना भएको खण्डमा आफ्नो पायक पर्ने अस्पतालबाट उपचार गरिए पनि एसएसएफले खर्च प्रदान गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ चैत्र २०८१, १६ : ३७
लेखकबाट थप