प्रतिपक्षी माओवादी र जसपा नेपालद्वारा मधेस प्रदेशसभा बैठक अवरुद्ध

सफल खबर संवाददाता

आइतबार, १० चैत्र २०८१, १४ : ५१
प्रतिपक्षी माओवादी र जसपा नेपालद्वारा मधेस प्रदेशसभा बैठक अवरुद्ध

जनकपुरधाम । प्रतिपक्षी नेकपा माओवादी केन्द्र र जसपा नेपालले मधेस प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् ।सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै माओवादी संसदीय दलका नेता भरत प्रासद साहले बैठक चल्न नदिने बताए ।

उनले मुख्यमन्त्री कुटनीति मर्यादा विपरित विदेश गएको, कमिशन लिएर पालिकालाई सशर्त बजेट दिने गरेको, संघका कर्मचारीसंग मोटो रकम लिएर जिम्मेवारी दिने गरेको लगायतका आरोपको विषयमा मुख्यमन्त्रीको जवाफ माग गरे ।

उनले भने, ‘कुटनीति मर्यादाको ख्याल नगरेको विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्छ । अन्य आरोपको सन्दर्भमा संसदीय छानविन समिति बनाउनुपर्छ । होइन् भने सदन चल्न दिदैनौं ।’सांसद साहले आफ्नो राखेपछि माओवादीका अन्य सांसद र जसपा नेपालका सांसदहरु उभेर संसद अवरुद्ध पारे ।

जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले सरकारले जिल्लास्थित कार्यालयको योजनाहरु मन्त्रीको सचिवालयबाट वितरण हुने गरेकोमा आपत्ति जनाए ।

उनले भने, ‘माननीय जीहरुले डेढ करोड र ५ करोडको योजना पाए कि पाएनन् भन्ने विषय पनि छ । यसका लागि संसदीय छानविन समिति बनाउनुपर्छ ।’ माओवादी र जसपा नेपालका सांसदहरु संसद अवरुद्ध पारेपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस