भरतपुरमा रासायनिक विषादी प्रयोग कर्ताको अभिलेख राख्न सुरु

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०८१, १६ : ४५
भरतपुरमा रासायनिक विषादी प्रयोग कर्ताको अभिलेख राख्न सुरु

चितवन  । कृषि बालीमा रासायनिक विषादीको प्रयोग बढ्न थालेपछि भरतपुरमा विषादी प्रयोगकर्ताको विवरण लिन थालिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर–१५ले विषादी न्यूनिकरणका लागि विषादी प्रयोग गर्ने किसानको विवरण संकलन गर्न थालेको हो ।

कृषि बालीमा प्रयोग गरिने रासायनिक विषादीका कारण क्यान्सर जस्ता प्राणघातक रोग बढी देखिएकाले विषादी प्रयोगलाई न्यूनिकरण गर्न विवरण संकलन गर्न थालिएको भरतपुर वडा नम्बर–१५का वडाध्यक्ष श्रीकृष्ण देवकोटाले जानकारी दिए । उनका अनुसार, चालु आर्थिक वर्षदेखि वडाले विवरण संकलन गरिरहेको छ ।

‘विषादीको प्रयोग सकेसम्म त कसैले गर्न नहुने हो,’ उनले भने ‘केही कम गर्न सकिन्छ कि भनेर विषादी प्रयोग कर्ताको विवरण बुझाउन भनेका छौँ ।’ उनले तराईबाट आएर तरकारी लगाउने किसानले प्रतिबन्धित विषादी समेत हाल्ने गरेको बताए । ‘अहिले प्रारम्भमा प्रयोग कर्ताको विवरण लिन्छौँ । त्यही विवरणलाई पछ्याउँदै विषादी प्रयोग गर्ने किसानको घरमा गएर कुन विषादी प्रयोग गरेको छ हेर्छौँ’ उनले भने ‘मापदण्डभन्दा विपरित र दर्ता विना विषादी प्रयोग गरेमा मापदण्ड बनाएर कारबाही गछौँ ।’ कृषि प्राविधिकबाट मुल्यांकन गरेर कारबाहीको सिफारिस गरिने उनले बताए ।

विषादी प्रयोगका कारण क्यान्सरका विरामी बढ्दै गएपछि निश्चित मापदण्ड बनाएर भएपनि विषादी प्रयोगमा कडाई गर्न लागेको उनले बताए । भरतपुर–१५लाई विस्तारै रासायनिक विषादी मुक्त वडा बनाउने लक्ष्य समेत रहेको उनले सुनाए । वडाले अर्गानिक खेती गर्दै आएका किसानहरुलाई प्रोत्साहनका लागि विभिन्न कार्यक्रम ल्याएको उनले बताएका छन् । प्रतिबन्धित विषादीलाई पूर्ण रुपमा नियन्त्रण गर्न समेत सरकारलाई अनुरोध गरेका छन् ।

भरतपुर–१५मा अर्गानिक रुपमा खेती गर्ने किसानको संख्या बढ्दो छ । जिल्ला प्राङ्गारिक संघ चितवनका अनुसार यस वडामा अन्तराष्ट्रिय रुपमा प्रमाणिकरण भएका २५ जना किसान रहेका छन् । संघका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले विषादी रहित दिगो कृषि सम्भव भएकाले वडाले पछिल्लो समयमा ल्याएको मापदण्ड स्वागत योग्य रहेको बताए । ‘हामी ३४ वर्षदेखि प्राङ्गारिक खेतीका लागि लडिरहेका छौँ । अहिले जनप्रतिनिधिहरु पनि बाध्य भएर पनि विषादी नियन्त्रणका कुरा उठाउनुभएको छ,’ उनले भने ‘बाध्यता बहस भएपनि यो स्वागत योग्य कुरा हो ।’

कृषि बाली लगाउन रासायनिक विषादी आवश्यक नपर्ने भन्दै उनले वनस्पति कुहाएर पनि जैविक विषादी प्रयोग गर्न सकिने बताए । रासायनिक विषादीले माटोको अम्लियपन घटाउँदै उत्पादकत्व समेत कम हुने उनको भनाई छ । ‘एक पटक विषादी राखेको जमिनमा अर्को पटक उत्पादन लिन त्यसभन्दा बढी डोज विषादी हाल्नुपर्छ,’ उनले भने ‘माटो बिग्रिएपछि अन्तिम चरणमा विषादी हालेपनि उत्पादन लिन सकिँदैन ।’

उनले विषादीले मानव स्वाथ्यमा समेत असर पार्दै गएको बताए । नेपालमा ६० वर्ष अगाडिसम्म विषादीको प्रयोग नभएको उनको भनाई छ । नेपालमा वार्षिक १२ किलो विषादी आयात हुँदै आएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको तथ्यांकमा उल्लेख छ । अर्गानिक खेती तर्फ किसानलाई प्रोत्साहन गर्ने हो भने नेपाली मुद्रा विदेशिनबाट रोक्न सकिने समेत उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस