काठमाडौं । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायण मैनालीले दिएको जानकारी अनुसार चालू आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयको कुल बजेट ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ छ । संघीयतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।समग्रमा हालसम्म जम्मा रू १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च भएको प्रवक्ता मैनालीले बताए ।
मन्त्रालयका अनुसार विभिन्न कार्यक्रमहरूको कार्यान्वयन क्रम जारी छ । हालसम्म ३ हजार ७१६ नयाँ कार्यक्रमहरूमध्ये १ हजार ६२३ वटामा बोलपत्र आह्वान भइसकेको छ । तीमध्ये १ हजार ९८ वटामा ठेक्का सम्झौता भई १२४ वटाको निर्माण कार्य सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।
यस वर्ष सहरी पूर्वाधार तथा भवन निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको मन्त्रालयको दाबी छ । बाँकेको नेपालगञ्जस्थित सिटी हल निर्माण सम्पन्न भई अन्तिम प्रक्रियामा छ । यस्तै लौकही सभाहलको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवासको दोस्रो चरणको निर्माण ८० प्रतिशत पूरा भइसकेको छ ।
बजेट | खर्च रकम | खर्च प्रतिशत | |
चालु | रू. ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार | रू.१ अर्ब ११ करोड ६३ लाख १७ हजार | २५.२३ |
पुँजीगत | रू. ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार | रू.११ अर्ब १२ करोड ४० लाख ६७ हजार | १७.४३ |
जम्मा | ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार | १२ अर्ब २४ करोड ३ लाख ८७ हजार | १७.९३ |
ग्रामीण सडक तथा पुल निर्माण योजनाअन्तर्गत हालसम्म ८.६ किलोमिटर ग्रामीण कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ । ३० वटा स्थानीय सडक पुल बनाउने लक्ष्य राखिएकोमा पाँच वटा निर्माण सम्पन्न भइसकेका छन् ।
त्यस्तै, ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने योजनाअन्तर्गत १६२ वटा सम्पन्न भएका मन्त्रालयका प्रवक्ता मैनालीले जानकारी दिए ।
सहरी विकास मन्त्रालयले स्थानीय तहहरूका प्रशासकीय भवन निर्माणलाई प्राथमिकता दिएको छ । यस अन्तर्गत ६८ वटा स्थानीय तहमा भवन निर्माण गर्ने लक्ष्यसहित हालसम्म ३६ वटा प्रशासकीय भवनहरू निर्माण सम्पन्न भएका छन् ।
सिंचाइ पूर्वाधार विकासमा पनि सरकारको लगानी जारी छ । चालू वर्षमा १ हजार ७२३ हेक्टर सिंचित क्षेत्रफल वृद्धि गर्ने लक्ष्य राखिएकोमा हालसम्म ६७८ हेक्टरमा सिंचाइ सुविधा विस्तार भइसकेको छ ।
धरहरालाई पुनः सञ्चालनमा ल्याउने सरकारको प्रयास सफल भएको छ । संविधान दिवस २०८१ असोज ३ गतेदेखि धरहरा सर्वसाधारणका लागि खुला गरिएको थियो । हालसम्म १ लाख ३० हजारभन्दा बढीले धरहराको अवलोकन गरेका छन् भने २ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन भइसकेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
सरकारले सहरी विकास योजनाहरुलाई तीव्ररूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउँदै चालू बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आवश्यक पहल गरिरहेको प्रवक्ता मैनालीले जानकारी दिए ।
सहरी विकास मन्त्रालयको योजना कार्यान्वयनको अवस्था
३० वटा स्थानीय सडक पुल निर्माण गर्ने लक्ष्य रहेकोमा ५ वटा पुल निर्माण सम्पन्न भएको ।
१. गेरूवा नदी पुल, सर्लाही,
२. माडर पुल, सिरहा न.पा.
३. तपोवन चौलानी नदी मोटरेवल पुल, दार्चुला
४. लिखु खोलापुल, सोलुखुम्बु
५. सुखचैना बुधौराको पूर्व, सिरहा
अन्य प्रगतिहरू
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०८१, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
वीरगञ्ज नाकाबाट छ महिनामा निर्यात बढ्यो
चार महिनामा सरकारी आम्दानी ३ खर्ब २९ अर्ब, खर्च ४ खर्ब १५ अर्ब
तीन महिनामा ६ अर्बको खाद्यान्न आयात
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो