म्याग्दीमा टीकाबहादुरको ओछ्यानबाटै जीवनरक्षाको अपिल

मंगलबार, १८ पुस २०७४, १२ : १५
म्याग्दीमा टीकाबहादुरको ओछ्यानबाटै जीवनरक्षाको अपिल

म्याग्दी । हाडजोर्नीको समस्याका कारण जीवनमरणको दोसाँधमा पुगेका म्याग्दीको बेनी नगरपालिका–९ का टीकाबहादुर खत्रीले ओछ्यानबाटै आर्थिक सहयोगको अपिल गरेका छन् ।

समान्य परिवारका खत्री विगत दुई महिनादेखि हाडजोर्नीको समस्याले ग्रसित हुनुहुन्छ । अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण उपचार गराउन नसकेपछि उहाँ ओछ्यानमै थला पर्नुभएको भाई चित्रबहादुर खत्रीले बताए ।

जन्मदेखि नै दायाँ खुट्टा केही छोटो भएका खत्रीको परिवारमा वृद्धा आमा थमसरा खत्री, बोल्न नसक्ने लाटी श्रीमती र दुई छोरा रहेका छन् । “घरको सम्पूर्ण जिम्मेवारी मैमाथि छ, त्यसमा पनि मेरो यस्तो अवस्था भयो, उपचार गराउन पैसा छैन, त्यसैले ओछ्यानमा लडिरहेको छु” खत्रीले भने “तपाईहरुले सक्दो सहयोग गरेर मेरो र मेरो परिवारको जीवन बचाइदिनुहुन सबैसँग घरको ओच्छ्यानबाटै अपिल गर्दछु ।”

सामान्य घरधन्दा गरेर घरपरिवार चलाएका खत्री बिरामी परेपछि घर खर्चसम्म चलाउन गाह्रो भएको उनकी वृद्धा आमाको भनाइ छ । खत्रीका भाइ चित्रबहादुर खत्रीले आफ्नो क्षमताले थेग्न सक्नेसम्मको खर्च गरेर नसकेपछि दाइलाई घरमा लिएर आएको बताए ।

दाइको उपचारका लागि सहयोग गरिदिन भाइ चित्रबहादुरले देश विदेशमा रहेका आफन्त र सम्पूर्ण सहयोगी मनलाई सामाजिक सञ्जाल र मिडियाबाट अपिल गर्नुभएको छ । खत्रीको उपचारका लागि करिब रु पाँचलाख लाग्ने अस्पतालले जनाएको छ ।

उपचारका लागि विदेशबाट सहयोग
मुखको हड्डीमा गम्भीर समस्या देखिएपछि उपचार गराइरहेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका एक युवाको उपचारमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूके ले आर्थिक सहयोग गरेको छ ।

विश्वमै दुर्लभ मानिने दाँतको समस्याबाट पीडित तिलक बुदुजालाई नेपाली करिब रु एक लाख १२ हजार ३७० मोना यूकेका अध्यक्ष कमलबहादुर पुर्जा र कोषाध्यक्ष होम रोकाले मिम जुग्जालीलाई हस्तान्तरण गरेका छन् ।

मोना यूकेको वार्षिक साधारणसभाको अवसरमा बुदुजाको पहिलो चरणको शल्यक्रिया गरी तल्लो सम्पूर्ण दाँतका हड्डी बाहिर निकालेर कृत्रिम राखेर उपचार भइरहेकाले थप उपचारमा आर्थिक अभाव हुन नदिन आर्थिक संकलन गरिएको मोना यूकेका महासचिव कुमार फगामीले बताए ।

नेपालमै पहिलो मानिएको रोगको पहिचान भएकाले विभिन्न चरणको शल्यक्रियासहित औषधि सेवनमा समेत धेरै खर्च हुने भएकाले पनि थप सहयोगको आवश्यकता रहेको पीडितका दाजु निर्मल बुदुजाले जानकारी दिए ।

करिब दुई वर्ष अगाडि मुखकोे बंगारा दुख्ने, दाँयातर्फको गालामा खाडल र हड्डीसमेत खिइएपछि उपचारको क्रममा बुदुजाको रोग पहिचान भएको थियो । बुदुजाको उपचारका लागि नारच्याङबाट विश्वका विभिन्न मुलुकमा पुगेकाले सहयोग संकलन गरिरहेका छन् ।

अर्थ अभावका कारण उपचारबाट वञ्चित भएका १७ वर्षीय बुदुजालाई म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले पहिलोपटक रोग पहिचानका लागि रु १० हजार दिएर काठमाडौँ पठाएको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस