मिथिला माध्यमिकी परिक्रमाका यात्री फूलहर पुग्दै

सफल खबर संवाददाता

शनिबार, १७ फागुन २०८१, ०८ : २७
मिथिला माध्यमिकी परिक्रमाका यात्री फूलहर पुग्दै

महोत्तरी । मिथिला माध्यमिकी परिक्रमाका यात्री आज तेस्रो दिनको विश्रामका लागि भारतको मधुवनी जिल्लामा पर्ने फूलहर पुग्दैछन् ।

गत बिहीबार सुरु भएको १५ दिने यो परिक्रमा यात्रामा पहिलो दिन धनुषाको हनुमानगढी र दोस्रो दिन मधुवनीकै कलना रात्रि विश्राम गरेका यात्री आज तेस्रो दिनको बासका लागि फूलहर पुग्नेछन् ।

मिथिलाको महाकुम्भ मानिने यो यात्राका सहभागीको स्वागतसत्कार, भोजन, आवाससहितका प्रबन्धमा मटिहानीवासी जुटेका छन् । मटिहानीसहित जिल्लाका अन्य चार पडावस्थलमा भोजन, आवास, प्राथमिक स्वास्थ्योपचार र सुरक्षासहितका प्रबन्ध र मेला व्यवस्थापनको अन्तिम तयारी जारी छ । जिल्लाका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन यात्रीका रात्रि विश्रामस्थल हुन् ।

महोत्तरी र धनुषा एवं भारतको मधुवनी जिल्लाका केही भाग समेटिएको १३३ किलोमिटर वृत्तभित्र माध्यमिकी यात्रा गरिन्छ । त्रेता युगका श्रीराम र सीताको पदचिह्न पछ्याउन यात्रा थालिएको मानिन्छ । बृहत्तर जनकपुर क्षेत्र विकास कोषका साथै विश्रामस्थलमा सम्बन्धित स्थानका सामाजिक सङ्घसंस्था तथा व्यक्तिले गच्छेअनुसार सहयोग गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस