विपन्नलाई न्यानो बाँड्दै सामाजिक संघसंस्था

मंगलबार, १८ पुस २०७४, १० : २२
विपन्नलाई न्यानो बाँड्दै सामाजिक संघसंस्था

झापा । कठ्यांग्रिँदो पुसको जाडोमा विपन्नलाई न्यानो प्रदान गर्न झापामा विभिन्न सामाजिक संघसंस्था सक्रिय भएका छन् ।
जिल्लामा पछिल्लो समयमा विद्यालय र विपन्न बस्तीमै गएर न्यायो कपडा बाँड्ने क्रम बढेको छ । व्यक्तिगत तथा संस्थागत रुपमै स्वीटर, कम्बल, मोजा, टोपीलगायतका सामग्री प्रदान गर्न थालिएको हो । जन्मदिन, विवाह, आफन्तको स्मृतिको अवसरमा विपन्न बस्ती, वृद्धाश्रम, विद्यालयमा गएर सहयोग दिने क्रम बढेको छ ।

यस्तै, झापाको हल्दिबारी–४ जलथलमा सोमबार विपन्न तथा लोपोन्मुख सन्थाल समुदायका १२० परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

काठमाडौँको असनमा मुख्य कार्यालय रहेको साइ बचत तथा ऋण सहकारी संस्था र स्वर्णिम सहारा परिवारको संयुक्त पहलमा न्यानो कपडा वितरण गरिएको हो । सामाजिक कार्य गरेर नयाँ वर्ष मनाउने योजनाअनुरुप सामग्री वितरण गरिएको स्वर्णिम सहाराकी अध्यक्ष प्रिन्सेस एञ्जलले जानकारी दिए ।

संस्थाले गत तिहारमा देउसी खेलेर संकलित रकममा थप सहयोग जुटाएर रु तीन लाख ५० हजार मूल्य बराबरको सामग्री वितरण गरिएको थियो । झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देनलगायतले न्यानो कपडा वितरण गरेका थिए ।

सांसद लिङ्देनले सामाजिक कार्यमा लागेका संस्थाले लक्षित वर्गमा राहत पुर्‍याएको भन्दै धन्यवाद दिएका थिए ।  त्यस्तै, सन्थाल समुदायका बालबालिकाका लागि शैक्षिक सामग्रीसमेत उपलब्ध गराइएको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस