काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरू भएको छ । प्रधानमन्त्री ओलीको ७४औं जन्मदिन पारेर सुरू गरिएको प्रतियोगिताको उद्घाटन समारोहमा पत्नी राधिका शाक्यले केक खुवाएर शुभकामना साटिन् । सहभागी अन्य अतिथिले पनि ओलीलाई शुभकामना दिएका छन् ।
उद्घाटन समारोहमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक बद्री पंगेनी, महेश काफ्ले, अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका कलाकारको समेत उपस्थित छ । कलाकारहरूले सांगीतिक प्रस्तुतिसमेत दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सुरू प्रतियोगिता एन्फा कम्प्लेक्समा हुँदैछ । पहिलो खेल उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबीच हुने तय छ । प्रतियोगितामा दुई विदेशीसहित ९ टोली प्रतिस्पर्धी छन् । आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड विदेशी टोलीको रूपमा सहभागिता जनाएका छन् ।
यसबाहेक एपीएफ एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी ओली एफसी, न्यूरोड टिम र मच्छिन्द्र एफसी सहभागी छन् । पहिलो सेमिफाइनल फागुन १६ र दोस्रो सेमिफाइनल फागुन १७ गते हुनेछ ।
फाइनल खेल फागुन १९ गते हुने तालिका छ । सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।
प्रतियोगितामा इटालीका विश्व चर्चित फुटबल खेलाडी तथा लिजेन्ड गोलकिपर जियानलुजी बुफनकोको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०८१, १५ : ४१
लेखकबाट थप